प्रस, पर्सागढी, २८ फागुन/
पर्सागढी नगरपालिका–४ बर्वाटाँडीमा किसानले लगाएको मकैबालीलाई जङ्गली बँदेलले क्षति पु–याएको छ।
राष्ट्रिय वन, सबैया साझेदारी वन र सबडिभिजन वन कार्यालय मधुवन मथवल बडनिहार अन्तर्गत पर्ने वनक्षेत्रदेखि चार किलोमिटर टाढा किसानले लगाएको मकैबाली बँदेलले नष्ट गर्न थालेको किसानले बताए। सो स्थानमा करीब ७५ जना किसानको मकैबाली छ। अहिले पाँचजनाभन्दा बढीको मकैबालीमा बँदेलले क्षति पु–याएको बताइएको छ। स्थानीय किसानहरूले यस वर्षदेखि बँदेलले दुःख दिन शुरू गरेको बताए। उनीहरूले अहिलेसम्म पर्सागढीमा वनक्षेत्रबाट जङ्गली जनावर आएर खेतीबाली नष्ट नगरेको बताएका छन्। यसपटकदेखि राति ९ बजेपछि दर्जनको सङ्ख्यामा बँदेल आएर मकैबाली नष्ट गरेको हो।किसानहरूले यसबारेमा विचारविमर्श गरी राति जाग्राम बसेर बँदेल भगाउने अभियान शुरू गर्ने बताए। केही किसानले विद्युतीय तारबार राख्ने बताए पनि यसअघि रौतहटमा एकजना चोर खेतमा लगाएको विद्युतीय तारबारमा परेर मृत्यु भएको घटना स्मरण गर्दै विद्युतीय तारबार नलगाउने सहमति भएको छ। आज किसानहरू भेला भएर मकैबालीमा थप क्षति हुन नदिन राति जाग्राम बस्ने र बँदेललगायतका जङ्गली जनावरलाई बाली नष्ट गर्नबाट रोक्ने एकजना किसानले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here