डा. रमेश मिश्र
स्वस्थ जीवनयापनको लागि आहार र निद्राको अति नै महत्व छ। स्वच्छ र सफा खानपान, रहनसहन भएमा व्यक्तिलाई निद्रा पनि राम्रै आउँछ तर अहिलेको व्यस्त जीवनशैलीले गर्दा
सबै फरक हुन थालेको छ। परिणामस्वरूप विभिन्न रोग व्यक्तिमा हुन थालेको छ।
व्यक्तिको निद्रा अव्यवस्थित भएमा उसको प्रसन्नता, मानसिक क्रिया, साहस, बल, शक्ति र अन्य क्रियाहरू प्रभावित हुन्छन्। असुविधाजनक वातावरण, उच्च आवाज, तेज प्रकाशमा त व्यक्तिलाई निद्रा लाग्दैन, यो त सामान्य कुरा हो। तर शान्त वातावरणमा पनि निद्रा लागेन भने त्यसलाई अनिद्रा भनिन्छ।
अनिद्रा त्यस बेला एउटा ठूलो समस्या हुन्छ, जब यसको कारण व्यक्तिको स्वभाव, व्यवहार, शारीरिक र मानसिक क्रियाहरू प्रभावित हुन थाल्छन्।
आयुर्वेदमा निद्राको गुण र अवधिमा तमोगुण र कफदोषको प्रधानता मानिन्छ। अव्यवस्थित जीवनशैली वा कुनै अन्य रोगको कारण उत्पन्न शारीरिक वा मानसिक अवस्थाबाट वातदोष र रजोगुण बढेर निद्रालाई कुप्रभावित गर्दछ। यो अवस्था धेरै दिनसम्म भइराखेमा अनिद्रा वा निद्राका अनेकन विकृति उत्पन्न हुन्छन्।
निद्रा नलाग्नु अनिद्राको लक्षण हो। यसको साथसाथै बिस्तारै–बिस्तारै टाउको दुख्नु, बेचैनी, जीउ दुख्नु, अरुचि, कब्जियत, छाला खस्रो हुनु, चिडचिडापन हुनु, मन स्थिर नहुनु, व्यवहार र स्वभावमा परिवर्तन हुनु जस्ता लक्षणहरू देखा पर्न थाल्छन्।
अनिद्राका विभिन्न चिकित्सा पद्धतिमा उपचारको व्यवस्था गरिएको छ। आयुर्वेदमा अनिद्राको कारण एवं लक्षणहरूको आधारमा चिकित्साको व्यवस्था गरिएको छ। शारीरिक र मानसिक विश्रामको लागि जीवनशैलीमा सुधारको लागि रोगीको प्रकृति अनुसार उपचार गरिन्छ। जसले गर्दा रोगीको निद्रामा बिस्तारै–बिस्तारै सुधार आउँछ। आयुर्वेदमा अन्य चिकित्सा पद्धतिमा जस्तै कडा खालको निद्राकारक औषधि दिइँदैन। अनिद्रा र यससँग सम्बन्धित विकारहरूलाई सफलतापूर्वक उपचारको लागि आवश्यकता अनुसार आहार, भावना, शारीरिक क्रियाहरू, व्यवहार र निद्राको समय आदि जीवनमा नियन्त्रण गरिन्छ। पञ्चकर्मबाट शारीरिक शोधन एवं शारीरिक एवं मानसिक विश्रामको लागि शिरोधारा गराइन्छ। अनिद्राको कारणको चिकित्सा गरिन्छ। मेध्य रसायन र अन्य चिकित्सकीय परामर्श अनुसार औषधिको प्रयोग गरिन्छ। सुत्ने बेला रोगीको प्रकृति अनुसार दूध र खसखसको प्रयोग गरिन्छ। गुडको साथमा पिप्पली मूलको प्रयोग गरिन्छ। योगाभ्यास, प्रणायाम गरिन्छ।
अनिद्रामा मुख्यरूपमा जडीबुटीहरू रोगीको प्रकृति, अनिद्रा र सम्बन्धित अन्य विकारलाई ध्यानमा राखी शङ्खपुष्पी, जटामासी, अश्वगन्धा, तगर, सर्पगन्धाको प्रयोग गराइन्छ।
सरल, पौष्टिक र सुपाच्य आहार, समयमा भोजन, रातिमा सुत्न जानुभन्दा दुई घण्टाअगाडि भोजन गर्नुपर्दछ। धूमपान, चिया, कफी, मद्यपान र उत्तेजक पदार्थ सेवन गर्नुहुँदैन। दिनमा सुत्नुहुँदैन, ऋतु र वातावरणको अनुसार शøया हुनुपर्दछ। सकारात्मक सोच, शान्तिपूर्ण व्यवहार, राति भोजनपछि हिंड्डुल गर्ने, सुत्नुभन्दा अगाडि खुट्टा मनतातो पानीले धुने, शिरमा तेल मालिस आदि गर्नुपर्दछ।