दाइजो कानूनतः अपराध हो। तर यो अपराध अहिलेसम्म समाजका प्रायः सबैजसो तह र तप्काका मानिसले गर्दै आइरहेका छन्। कानूनीरूपमा अपराध भएको कारण दाइजो लिएको कसैले पनि सामाजिक वा सार्वजनिकरूपमा स्वीकार्दैनन्। वैवाहिक कार्यक्रममा केटीपक्षले केटापक्षलाई दिने नगदनारायणलाई दाइजो भन्ने गरिन्छ। दाइजो प्रथाले तराई–मधेसमा नराम्ररी जरा गाडेको छ। दाइजोको कारण यहाँका छोरीहरू शिक्षाबाट वञ्चित हुनुपरेको छ। निम्न र मध्यम वर्गमा छोरी जन्मेपछि दाइजोको कारणले परिवारलाई चिन्तित पारेको हुन्छ। बिहे गर्दा केटापक्षको मागबमोजिमको रकम नदिएको कारण कतिपय केटीहरूको वैवाहिक कार्यक्रम रोकिएको उदाहरण हाम्रो समाजमा छ।
दाइजोले यतिसम्म समाजलाई कुरूप पारेको छ कि दाइजो नलिने मनस्थिति बनाएका परिवार पनि दाइजो लिने पक्षमा खडा हुन थालेका छन्। अन्यले गरेको देखासिखीमा दाइजो समाजमा क्यान्सरझैं फैलिएको हो। सामान्य भाँडा माझ्नेले पनि छोरीको बिहे गर्दा न्यूनतम तीन लाख नगदको जोहो गर्नुपर्छ। यो समाजको कटु सत्य हो। जोसुकैले आदर्शको कुरा गरे पनि दाइजो लिनेमा उसको विमति हँुदैन। ओहोदामा पियनदेखि न्याय सम्पादन गर्नेसमेतले दाइजो लिएका उदाहरणहरू हाम्रो समाजमा छ। पैसा देखेपछि महादेवको पनि त्रिनेत्र खुल्छ भन्ने उखान छ। यस्तोमा दाइजो लिन्नँ भन्नेहरूको कमी पनि छैन। घोषणा बहादुरहरू पैसाको कुरा आएपछि उखानझैं त्रिनेत्र
खोल्छन्। दाइजो नलिएर विवाह गरेको घोषणा कम हुने भएकाले पनि हाम्रो समाजमा दाइजो प्रथाको अवस्था आङ्कलन गर्न सकिन्छ। प्रायः दाइजो लिएर बिहे हुन्छन्, त्यसैले यसले चर्चा पाउने कुरा भएन। केवल यस्तोमा चर्चा हुन्छ लगाइ, खुवाइ, गरगहना, साजसजावट, आदि इत्यादिको। फलानोले यति दाइजो लियो तर खर्चमा कन्जुस्याइँ
ग–यो अनि फलानोले त दाइजो पनि दियो, दरिलो गरी खर्च पनि ग–यो। दाइजोविरुद्धको कानून बनाउने र त्यसलाई समाजमा लागू गर्नुपर्ने दायित्व बोकेको सङ्घीय सरकार, प्रदेश सरकार अनि स्थानीय सरकारका जिम्मेवार
व्यक्तिहरू पनि दाइजो लिएदिएको बिहेमा मात्र भेटिन्छन्। उनीहरूले कानूनतः अपराध भएको यस खाले वैवाहिक कार्यक्रममा दाइजो लिनेदिने काम भएको छ, छैन सोको सामान्य जानकारी पनि नलिएर आपसी चिनजान, नाता, सम्बन्ध अनि प्रभावको पछि परेर सहभागी हुन्छन्। जब जिम्मेवार व्यक्तिले कानूनतः अपराधलाई वैधानिकता प्रदान गर्न सघाउँछ भने समाजमा विकृति मौलाउनु स्वाभाविकै हो।
यस्तो अवस्थामा पनि बारा प्रसौनी गाउँपालिका–४ का अनावरूल अन्सारी र वीरगंज महानगरपालिका–२ घुसुकपुरकी समिना प्रवीणको दाइजोरहित वैवाहिक कार्यक्रममा सहभागी भएका सामाजिक कार्यकर्ता, अगुवा र सञ्चारकर्मीहरू प्रशंसाका हकदार छन्। उनीहरूले सामाजिक विकृतिविरुद्धको वैवाहिक कार्यक्रममा आप्mनो सहभागिता जनाए। यसैगरी, दाइजो लिएर हुने वैवाहिक कार्यक्रम बहिष्कार गरिने हो भने समाजबाट केही समयमैं दाइजो प्रथा उन्मूलन हुन बेर लाग्दैन।