प्रस, वीरगंज, २७ फागुन/
उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रमा लागेर नेकपाको बहुमतको सरकारलाई ढाल्न कोशिश गर्ने नेताहरूसँग पार्टीले छलफल गरी अघि बढ्ने बताएका छन्।
प्रेस सङ्गठन पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रम पोखरेलले पार्टीले ठोस निर्णय गरी एकपटकको लागि आत्मालोचना गर्न मौका दिने विषयमा छलफल भइरहेको बताए। उनले नेकपा एमाले पार्टी अब २०७५ जेठ २ गतेको अवस्थामा फर्केको र यसबीच घटेका राजनीतिक घटनाक्रममा पार्टीमा पुनः आउनेहरूलाई कुनै घोचपेच नगरिने, अशिष्ट भाषाको प्रयोग नगरिने बताए। उनले माओवादी केन्द्रका साथीहरूलाई सम्मानका साथ जिम्मेवारी र पद दिइने पनि बताए। उपप्रम पोखरेलले माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा अन्य दलसँग सहकार्य गर्ने र सो पनि नभएको खण्डमा मध्यावधिमा जाने बताए। अहिलेको अवस्थामा सरकार गठनका लागि सबै दलसँग छलफल चलिरहेको बताए।फरक प्रसङ्गमा उनले नेपाल–भारत सीमा पूर्णरूपमा खोल्नुपर्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोच्ने बताए। कोरोनाको प्रकोप कम भएको अवस्थामा सीमावर्ती क्षेत्रहरूका सिल सीमा बिस्तारै खुल्दै गरेको तर पूर्णरूपमा खुला गर्नका लागि स्थानीय जिल्लाका सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेर उच्चस्तरीय सङ्कट व्यवस्थापन समितिमा पठाएपछि आफू समितिको संयोजकको नाताले गृह मन्त्रालयसँग छलफल गरी सीमा खोल्न पहल गर्ने आश्वासन दिए।
रौतहटको मौलापुर नगरपालिकामा महाशिवरात्रि मेलाको उद्घाटन गर्न हिजो वीरगंज आएका उपप्रम पोखरेलले त्यहाँ जानुअघि वीरगंजमा पत्रकार सम्मेलन गरेका थिए। उनले वीरगंज–पथलैया ६ लेन सडकखण्डको निर्माण कार्य आफूले हेरेको र निर्माणमा भएको चरम ढिलासुस्तीका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएर दोषी ठेकेदारमाथि कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिए। विकास निर्माणमा यो चरम ढिलासुस्ती हो, सरकार यसमा चुप बस्दैन उनले भने।
नेपाल पत्रकार महासङ्घ पर्सा तथा प्रेस सङ्गठन पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षता भएको पत्रकार सम्मेलनको सहजीकरण पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीले गरेका थिए।