प्रस, वीरगंज, २७ फागुन/
महाशिवरात्रि वीरगंज महानगरमा भव्यताको साथ मनाइएको छ।
वीरगंजको अलखियामठ, राधेमाईलगायतका क्षेत्रमा रहेका शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो।
पूजाको लागि अलखियामठमा एकाबिहानैदेखि बहुसङ्ख्यकरूपमा महिलाहरू सहभागी थिए। दिउँसोसम्म पूजा गर्नेहरूको लाइन ठूलो थियो।
यसैगरी, साँझ शहरका विभिन्न स्थानमा शिवधुनी बालिएको थियो।वीरगंज–११ श्रीपुरस्थित त्रिमूर्ति टोलमा परम्परागतरूपमा शिवधुनी बालिएको थियो। प्रत्येक वर्ष त्रिमूर्ति टोल विकास तथा सुधार समितिको आयोजनामा हँुदै आएको शिवधुनी यसपटक झन् विशेष रह्यो।
कार्यक्रममा मानवशरीर रचनाशास्त्र (आनथ्रोपालआज्इ)मा विद्यावारिधि गर्ने क्रममा शोधको लागि वीरगंजमा रहेकी अमेरिकी नागरिक क्रिस्टिन कञ्चनले हिन्दू संस्कृतिबारे बुझेकी थिइन्।
शिवधुनीपछि सहभागीहरूलाई प्रसादग्रहण गराइएको थियो।
प्रस, सेढवा/
महाशिवरात्रिको दिनदेखि जीराभवानी गापामा लाग्ने १० दिने जीराभवानी मेला शुरू भएको छ।
ऐतिहासिक र धार्मिक महत्व बोकेको जीराभवानी मेला गाउँपालिकाको वडा नं १ र २ को दोसाँधमा रहेको जीराभवानी मन्दिरमा प्रत्येक वर्ष लाग्ने गर्छ। महाशिवरात्रिको दिनदेखि १० दिनसम्म लाग्ने जीराभवानीको मेला भर्न पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन र छिमेकी बिहारबाट मानिसहरू आउने गर्छन्।
महाशिवरात्रिको दिन आज एकाबिहानदेखि जीराभवानीमा भक्तजनहरूको भीड लागेको थियो।
जल, प्रसाद, फूल, बेलपत्र, अगरबत्ती लिएर भक्तजनहरू शिव भगवान्को पूजा आराधनामा लीन भएका थिए।
जीराभवानी मन्दिरमा शिवरात्रिको दिन आसपासका गाउँलेहरूले परिवारका ज्येष्ठ नागरिकको सुख, समृद्धिका लागि विशेष पूजा गर्ने गर्छन्। उनीहरूले विशेष पूजासँगै ज्येष्ठ नागरिकको नाममा गरीब, दीनदुःखीलाई खाद्यान्न, नगद दान गर्छन्।
मेलाको लागि समिति गठन भई सुरक्षा, स्वास्थ्य र पिउने पानीको व्यवस्था गरिएको छ।
पालिका, वडापालिका र स्थानीय सङ्घसंस्थाहरूले मेला व्यवस्थित गर्ने काममा सघाउ पु–याएका छन्।
प्रस, पर्सागढी/
महाशिवरात्रि पर्व पर्सागढी नगरपालिकामा पनि मनाइएको छ।
नगरपालिकाको बडनियार, बर्वाटाँडी, सबैयाटाँडीमा रहेका शिवालयमा एकाबिहानैदेखि भक्तजनहरू पुगेर भगवान् शिवको आराधना गरेका थिए।
आज शिवरात्रिको दिन व्रत बस्नेहरूले भगवान् शिवलाई दूध, धतुरो, बेलपत्र चढाएर दिनभरि व्रत गर्छन् भने दिउँसो सखरखण्ड, शीतल केसोर, बयरलगायतका फलफूल खाएर व्रत तोड्ने गर्छन्। साँझपख पर्सागढीका चोकचोकमा र मठमन्दिरमा शिवधुनी बाली भजनकिर्तन गरिएको थियो।
प्रस, सिम्रौनगढ/
महाशिवरात्रिमा सिम्रौनगढ नगरपालिकामा रहेका शिवालयहरूमा भक्तजनहरूको घुइँचो रह्यो। हजारौंको सङ्ख्यामा रहेका भक्तजनहरूले शिव मन्दिरमा पुगेर जलाभिषेक गरेका थिए।
सिम्रौनगढ नपामा त्रिलोकीनाथ, हरिहरपुरमा कमलेश्वर महादेव, कचोर्वामा पारसनाथ महादेव, भगवानपुर महादेव, नौकाटोला शिवमन्दिरलगायतका शिवालयहरूमा जलाभिषेक गरिएको थियो।
शिवरात्रिमा विभिन्न स्थानबाट जल थापेर चढाइएको थियो। काँवर बोकेर त्रिवेणी, नारायणी, वाग्मतीबाट ल्याइएको जल चढाइएको थियो। साँझ शिवालयहरूमा धुनी जलाइएको र रामलीला, अष्ट्याम, किर्तन, प्रवचनहरू गरिएको थियो।