प्रस, रौतहट, २७ फागुन/
उपप्रधानमन्त्री ईश्वर पोखरेलले मौलापुर महादेवलाई विश्वसम्पदा सूचीमा उल्लेख गराउन नेपाल सरकार लागिपर्ने बताएका छन्। मौलापुर नगरपालिकाद्वारा आयोजित मधानी विशेष महायज्ञको उद्घाटन गर्दै उनले स्थानीयवासी तथा मौलापुर नगरपालिकाद्वारा महत्वपूर्ण कार्यको थालनी भएको बताए। सो अवसरमा उनले प्रधानमन्त्री केपीशर्मा ओलीले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए। उपप्रम पोखरेलले मौलापुर नगर पालिकाले गरेको मधानी विशेष महायज्ञले नेपालको तराई–मधेसलाई चिनाउने बताए। उनले नेपाल बहुजाति, बहुधार्मिक र भौगोलिक विविधताले भरिएको देश भएको बताउँदै यहाँ १० थरीका धर्म तथा १२५ जातजाति बस्दै आएको बताए।
उनले अनेकथरीका विविधता र धर्मलाई संरक्षण गर्न सबै नेपाली एक हुन जरुरी भएको बताए। गौतम बुद्ध तथा राजा जनकले नेपाललाई चिनाए जस्तै नेपाल र तराई–मधेसलाई मौलापुर महादेवले चिनाउने उनले दाबी गरे।
मौलापुर नगरपालिकाकी प्रमुख रीना साहको अध्यक्षतामा भएको महायज्ञ उद्घाटन समारोहमा प्रदेश नं २ का प्रमुख डा राजेश झा, शहरी विकासमन्त्री प्रभु साहलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।