प्रस, सेढवा, २७ फागुन/
बुधवार साँझ आएको हावाहुरी र असिनापानीले पर्सा जिल्लाको थरुहट क्षेत्रमा रोपिएको गहुँ तथा सुर्ती खेतीलाई हानि पु–याएको छ।
जीराभवानी, ठोरी, जगरनाथपुर, पटेर्वासुगौली गापाका अधिकांश गहुँबाली हावाहुरी, असिनापानीले प्रभावित भएको किसानहरूले बताए।
गहुँको बालामा दाना लागेको बेला पानीले माटो नरम बनाएपछि हावाले गहुँबाली ढालेको जगरनाथपुर गापा–१ का किसान राजेश चौधरीले बताए।उनले यो क्षेत्रमा करीब ४० प्रतिशत गहुँखेती प्रभावित भएको बताए। गत वर्ष किसानहरूले अत्यधिक पानीको कारण धानबालीमा क्षति बेहोर्नुपरेको थियो।
यसपटक गहुँखेती राम्रो भएको बेलामा हिजो आएको हावाहुरी र असिनापानीले क्षति पु–याएको हो। जीराभवानी गापा–२ का रामजनम चौधरीले गत वर्ष धानखेतीमा भएको क्षतिको भरपाई यस वर्ष गहुँखेतीबाट हुने आस रहेकोमा हिजोको
हावाहुरी र असिनापानीले निराश बनाएको बताए।
हिजोको हावाहुरी र असिनापानीले सुर्तीखेतीलाई पनि क्षति पु–याएको छ। पात टिप्न बाँकी रहेको सुर्तीखेतीलाई हानि पुगेको विजयीबस्तीका रामबहादुर श्रेष्ठले बताए।निर्मलबस्ती, विजयबस्ती र गोपीबस्तीमा गरिएको सुर्तीखेतीलाई क्षति पुगेको श्रेष्ठले बताए।
हिजोको पानीले गहुँ र सुर्तीलाई हानि पु–याए पनि मकैबालीलाई भने फाइदा पुगेको किसानहरूले बताए। मकैमा सिंचाइ गर्नुपर्ने बेलामा पानी परेकोले फाइदा भएको ठोरी गापा–५ गडुवालाइनका किसान मुना मगरले बताइन्।