प्रमोद यादव, पंचगावाँ, २७ फागुन/
पर्साको पटेर्वासुगौली गाउँपालिका–४ मा सञ्चालित वनदेवी आधारभूत विद्यालय भतौडामा विद्यालय छोडेका दलित विद्यार्थीहरूलाई पुनः विद्यालय फर्काइएको छ।
कोरोनासँगै लकडाउन, निषेधाज्ञा भएर विद्यालय बन्द गरिएको र पछि विद्यालय सञ्चालनमा आएपछि करीब ५० जना दलित विद्यार्थी विद्यालय आएका थिएनन्। कोरोनापछि दलित अभिभावकहरूले साना नानीहरूलाई विद्यालय नपठाएर घरायसी काममा लगाएको सूचनाका आधारमा गापाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवको पहलमा दलित बालबालिकाहरूलाई पुनः विद्यालय जान वातावरण मिलाइएको थियो।
प्रप्रअ यादवले सो विद्यालयका प्रअ सुवास दास, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित दलित बालबालिकाका अभिभावकहरूलाई टोलमैं गएर सम्झाइबुझाइ गरेपछि दलित विद्यार्थीहरू विद्यालय जान पाएका हुन्। अभिभावकहरूलाई शिक्षाबाट हुने फाइदाबारेमा जानकारी गराइएको र बालबालिकाहरूलाई विद्यालय पठाउन आग्रह गरिएको थियो।
सो विद्यालयमा करीब अढाई सयजना विद्यार्थी छन्। विद्यालय खुलेको लामो समयसम्म पनि ५० जना विद्यार्थी अनुपस्थित देखिएपछि सोबारे सोधखोज गर्दा सबै दलित विद्यार्थी भएको पाइएको थियो। अभिभावकहरूलाई सचेत पारेर बालबालिकाहरूलाई विद्यालय फर्काइएको प्रअ दासले बताए। दलित अगुवा पाहुन माझी मुसहरले कोरोनापछि आर्थिक अवस्था कमजोर भएको, खानका लागि पनि समस्या भएको, रोजगार पनि गुमेको हँुदा डेढ किलोमिटर टाढा विद्यालयमा बालबालिकालाई पठाउन समस्या भएकोे बताएका थिए।