प्रस, निजगढ, २७ फागुन/
निजगढ नगरपालिका–१० लालमा वनक्षेत्रको जग्गा हडप्ने होडबाजी गर्दै लगाइएका तारबारलाई वन कर्मचारीले हटाउन शुरू गरेका छन्।
डिभिजन वन कार्यालय बाराको आदेशमा सबडिभिजन वन कार्यालय रतनपुरीले वनक्षेत्र अतिक्रमण हटाउन थालेका हुन्।
जग्गा अतिक्रमण हटाउनका लागि सशस्त्र वनरक्षक, रतनपुरी अस्थायी प्रहरी चौकी, अस्थायी सशस्त्र प्रहरी बेस लाल, इलाका प्रहरी कार्यालय निजगढसहितको सुरक्षा टोली परिचालन भएको सबडिभिजन वन कार्यालय रतनपुरीका प्रमुख सहायक वन अधिकृत रविकान्त श्रीवास्तवले बताए।सो क्षेत्रमा करीब १० हेक्टर वनक्षेत्र अतिक्रमण भएको र सोमध्ये हाल २ हेक्टर जग्गाको घेराबार, तारबार हटाएको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताए। उनले अन्य क्षेत्र पनि क्रमशः खाली गराइने बताए। अतिक्रमित वनक्षेत्रको जग्गामा खनजोत गरी बाली लगाउन तयारी गरिएपछि वन कार्यालयले सुरक्षाकर्मीको सहयोगमा अतिक्रमण हटाउन शुरू गरेको हो। वन कार्यालयले सो अतिक्रमण हटाउनका लागि निजगढ नगरपालिका र वडा कार्यालयमा पत्रचार गरे पनि ती निकायले वास्ता गरेनन्।
२०२२ सालको जिल्ला भूमिसुधार कार्यालय, कलैयाले नापनक्शा भई श्रेष्तापुर्जा बनाएका व्यक्तिसँगै अन्यले समेत वनक्षेत्रको जग्गा अतिक्रमण गर्ने क्रममा घेराबार, तारबार गरेका थिए। उनीहरूलाई जग्गाको प्रमाण माग गरिएको तर पूर्ण कागजपत्र नल्याएको प्रमुख आलमले बताए। यहाँ राजनीतिक अस्थिरताको फाइदा उठाएर वनक्षेत्र अतिक्रमणको शिकार हुने गरेको छ। श्रेष्तापुर्जा नभएकाहरूबाट वनक्षेत्र अतिक्रमण भएको प्रमुख आलमले बताए। अन्तर्राष्ट्रिय विमानस्थल, द्रुतमार्ग निर्माणको कार्य अघि बढ्दै गर्दा वनक्षेत्रको जमीनमा स्थानीयहरूले आँखा गाडेका हुन्।
वनक्षेत्रको जमीन कब्जा गर्न दिउँसै डोजरको प्रयोग गरी सम्याउँदै घेराबार गर्दै आएको र त्यसलाई सम्बन्धित वडा कार्यालयले नजरअन्दाज गरेको स्थानीयको आरोप छ। लालबस्तीको पश्चिम–दक्षिणमा पर्ने लालखोलालाई यसअघि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुरले राष्ट्रपति चुरे–तराई/मधेस संरक्षण अन्तर्गतको बजेटबाट तटबन्ध गर्दा नदी उकास जमीन निस्केपछि केही स्थानीयले त्यहाँको वनक्षेत्रमा आँखा गाडेका थिए।
२०५०/०५१ सालभन्दाअघि त्यहाँ रहेका घरहरूलाई त्यस बेला बाढी बस्तीमा पस्ने त्रासले साबिकको रतनपुरी–९ लालपूर्वतर्फको खुला चौरमा सुरक्षित बसोबासका लागि जग्गा दिइएको थियो। अहिले त्यसमध्येका केही व्यक्तिले नदी उकास जमीन निस्केपछि आँखा गाडेका हुन्।
त्यस क्षेत्रमा २०५७/०५८ मा वन कार्यालय बाराले करीब ४० हेक्टर वनक्षेत्रमा वृक्षरोपण गरेको थियो। तर वृक्षरोपण मासेर अतिक्रमण गरिएको थियो। कुनै बहानामा वनक्षेत्रको जमीन हडप्ने, कब्जा जमाएका छन भने वन कार्यालयले फिर्ता ल्याउने र सो कार्यमा संलग्न हुनेहरूलाई कानूनी कारबाही गर्ने डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here