प्रस, वीरगंज, २६ फागुन/
‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ नारासहित वीरगंज महानगरपालिकाको लगानी तथा होटल, पर्यटन व्यवसायी र पर्यटन पत्रकारको एक दिने उद्घोष कार्यक्रम बुधवार सम्पन्न भएको छ।
होटल दियालो लड्र्स प्लाजामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख विजयकुमार सरावगीले कोभिडको कारण होटल व्यवसाय मारमा परेको बताए। उनले वीरगंजमा रहेका होटल व्यवसायीहरू एकजुट भई पर्यटक लोभ्याउने योजना ल्याए महानगरले सहयोग गर्ने बताए। भारतीय पर्यटकको भरमा रहेका वीरगंजका होटल व्यवसायीहरू सीमा नखुल्दा समस्यामा परेको र सरकारले तत्काल सीमा खोल्नुपर्ने बताए। उनले नेपाल सरकारको गलत नीतिको कारण सामान बोक्ने गाडीमा कोरोना नलाग्ने तर निजी गाडीमा कोरोना लाग्ने भन्दै सीमा नखुलेकोप्रति दुःख व्यक्त गरे। उनले स्थानीय प्रशासनले पनि यस सम्बन्धमा चासो लिई तत्काल समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए। वीरगंजका होटल तथा अन्य व्यवसायी पनि पटक–पटक राजनीतिक शिकार हुँदै आएको तर सत्तामा पुगेपछि नेताहरूले वीरगंजलाई केही दिन नसकेको बताए। प्रहरीले पनि भारतीय पर्यटकहरूलाई अनावश्यक दुःख दिने गरेको बताए।
संविधानसभा सदस्य अनिल रूँगटाले होटल व्यवसायीहरू एक हुनुपर्ने बताए। उनले एकता गरी अगाडि नबढेसम्म होटल व्यवसाय अगाडि नबढ्ने बताए।
होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन पत्रकार सङ्घका अध्यक्ष शङ्कर आचार्य, उद्योगी–व्यवसायी युवराज लामा, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, भारतीय महावाणिज्यदूत नितेश कुमार, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वीउवासङ्घका अध्यक्ष सुबोध गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here