प्रस, वीरगंज, २६ फागुन/
बाराबाट ४५ किलो र पर्साबाट ३ किलो गाँजासहित दुईजना पक्राउ परेका छन्।
४५ किलो गाँजासहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।
मङ्गलवार राति ११ बजे बारा, पचरौता नगरपालिका–८ बाजोपट्टिनजीकै चारजना तस्करले गाँजा ढुवानी गरिरहेको बेला प्रहरीलाई देखेपछि तीनजना फरार भएका र एकजना पक्राउ परेको बारा प्रहरीले जनाएको छ।
सुरक्षा प्रहरी बेस क्याम्प लङ्गडाचोकमा खटेको प्रहरी टोलीले गाँजा ढुवानी गर्ने बारागढी गाउँपालिका–४ पोखरिया बस्ने ५० वर्षीय बाबूलाल चौधरीलाई ४५ किलो गाँजासहित पक्राउ गरेको जिप्रका बाराका प्रवक्ता एवं प्रनाउ गौतम मिश्रले जानकारी गराए। यसैगरी जिल्ला प्रहरी कार्यालय, पर्साले ३ किलो गाँजासहित एकजना युवकलाई पक्राउ गरेको छ।
मङ्गलवार राति ७ बजे वीरगंज महानगर–११ दुर्गाटोलनजीकैबाट ३ किलो गाँजासहित वीरगंज–१८ बस्ने १९ वर्षीय प्रिन्स पटेललाई पक्राउ गरेको हो। उनले स्कूल ब्यागमा गाँजा राखेर ना.४६प ५३२९ नम्बरको मोटरसाइकल प्रयोग गरेको र प्रहरीले चेकजाँचको क्रममा सो गाँजा बरामद गरेको हो।
घटनास्थलमा पक्राउ परेका पटेलले आफूलाई कसैले रु ५ सय दिएर गाँजा लैजान भनेको प्रारम्भिक बयानमा बताएका थिए। उनीविरुद्ध लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी गराएको छ।