प्रस, बिरुवागुठी, २६ फागुन/
पर्सागढी नगरपालिका–३ औरैया निवासी कोइराला दम्पतीले गाईपालन गरेर मनग्य आम्दानी गर्दैछन्।
तीन वर्षदेखि सौरभ गाई फार्म सञ्चालन गरेर उनीहरू व्यावसायिक गाईपालनमा होमिएका हुन्। अहिले मासिक रु १ लाख आम्दानी गाईपालनबाट गरिरहेको कोइराला दम्पतीले बताए। १० कट्ठा जग्गामा गाईगोठ निर्माण गरेर घाँसखेतीका साथै गाईको लागि चाहिने आहाराको जोहो गर्दै आएका छन्। सबै खर्च काटेर मासिक रु १ लाख आम्दानी हुने गरेको उनीहरूको भनाइ छ। फार्ममा होलस्टेन र मिनी जर्सी नामक उन्नत जातका २१ वटा गाई छन् र तिनीहरूबाट दैनिक ७० लिटर दूध उत्पादन हुने गरेको छ। उत्पादित दूध नजीकको अन्नपूर्ण दूग्ध उत्पादक सहकारी संस्थामा बिक्री गर्दै आएको कोइराला दम्पतीले बताए।
पति सालिकराम कोइराला र पत्नी भूमा कोइरालाले सो गाईपालन फार्म सञ्चालनमा ल्याएका हुन्। उनीहरू गाईपालन व्यवसायबाट खुशी देखिन्छन्। अरूको जागीर गर्नु र वैदेशिक रोजगारमा बाहिरिनुभन्दा आफ्नै व्यवसाय गरेर जीविकोपार्जन गर्न पाएकोमा उनीहरूले खुशी व्यक्त गरे। गाईपालन गरिरहेकोमा अहिलेसम्म स्थानीय पालिका र सरकारले कुनै पनि सेवा, सुविधा नदिएको उनीहरूको भनाइ छ।
कृषि कार्यमा संलग्नहरूलाई स्थानीय, प्रदेश र सङ्घ सरकारले सुविधा दिंदै आएको दाबी गरे पनि कोइराला दम्पतीले सो सुविधा अहिलेसम्म नपाएको बताए। उनीहरूले सरकारको घोषणा वास्तविक किसानसम्म पुग्न नसकेकोले यसबारेमा पुनर्विचार गर्नुपर्ने सुझाव दिएका छन्।
किसानको नाममा सुविधा लिनेहरूको सूची सार्वजनिक गर्नुपर्ने र यसो गर्दा वास्तविक किसानले अवसर पाउने उनीहरूको भनाइ छ।