प्रस, वीरगंज, २४ फागुन/
वीरगंज महानगरपालिकाले निर्माण गरेको घण्टाघर–पावरहाउस सडकखण्ड बनेको एक महीनामैं खानेपानी संस्थानले भत्काएको छ।
सो सडकखण्डको अर्पणा कम्प्लेक्स अगाडि खानेपानी संस्थानले सडक भत्काएर काम गरेको छ। भर्खरै निर्माण भएको सडकखण्ड भत्काइएपछि सो बाटो भएर आउनमा समस्या भएको छ। घण्टाघर–पावरहाउस फोरलेन सडक लामो समयदेखि बिग्रेको र भर्खरै लगभग दुई किलोमिटरको उक्त सडकखण्ड महानगरपालिकाले रु २ करोडको लागतमा निर्माण गरेको हो। सडक बनेको एक महीना पनि बित्न नपाउँदै सो सडकखण्ड भत्काइएपछि अहिले आलोचना भएको छ। वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगीले सडकखण्ड भत्काइएको बारे आफूलाई जानकारी नभएको र कुरा बुझ्ने बताए।
महानगरका योजना प्रमुख इन्जिनीयर राकेशकुमार साहले खानेपानीको पाइपलाइन मरम्मतको लागि सडक खन्ने काम भएको बताए।
उनले सडक बनेको केही दिनमैं सो स्थानबाट पानी लिकेज भएको र सोको रोकथाम नगर्दा सडक झनै बिग्रन सक्ने सम्भावना भएकोले मरम्मतको लागि इजाजत दिएको बताए। उनले सडक मरम्मतपछि नयाँ सरह निर्माण गरिने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here