प्रस, वीरगंज, २३ फागुन/
पर्सामा पनि कोरोनाविरुद्धको खोपको दोस्रो चरणको खोप अभियान शुरू भएको छ।
आइतवार जिल्ला स्वास्थ्य कार्यालय, पर्साले आयोजना गरेको एक दिने अभिमुखीकरण गोष्ठीमा पहिलो चरणमा अग्रपङ्क्तिमा खटेका व्यक्तिहरू कोरोनाविरुद्ध खोप लिइसकेका र दोस्रो चरणमा ज्येष्ठ नागरिक, सर्वसाधारण खोप दिइने खोप इन्चार्ज अनिल सिंहले बताए। उनले दोस्रो चरणको खोप अभियान ९ दिनसम्म हुने र २५ हजार खोप पर्साका सर्वसाधारणले पाउने योजना अनुसार अगाडि बढेको बताए।
पर्सामा दुई भाग गरेर फागुन २३ गतेदेखि २७ गतेसम्म पर्सागढी, सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर, जीराभवानी, ठोरी, पोखरिया गरी सातवटा पालिकामा करीब १८ हजार खोप दिने योजना अनुरूप अभियान शुरू हुने बताए। बाँकी अन्य सातवटा स्थानीय तहमा फागुन २८ गतेदेखि चैत २ गतेसम्म १७ हजारजनालाई खोप दिइने उनले बताए।
लक्षित वर्ग, ६५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिनको लागि पर्सा जिल्लाभरि ३७ वटा खोप केन्द्र सञ्चालनमा ल्याउने बताए। प्रत्येक वडामा रहेका स्वास्थ्य केन्द्र तथा नियमित खोप दिने स्थानबाट कोरोनाविरुद्धको खोप लगाउन सकिने इन्चार्ज सिंहले जनाए। दुईटै अभियानमा ४ सय जनशक्ति परिचालन गर्ने योजना अनुसार स्वास्थ्य कार्यालय पर्सा अघि बढेको उनको भनाइ थियो। अहिलेसम्म नारायणी अस्पतालबाट खोप दिंदै आएको र कुल ९ हजार ६ सय १ जनाले खोप लिएको उनले बताए।
खोप लिएपछि सामान्य लक्षणबाट नआत्तिन स्वास्थ्य कार्यालयका प्रमुख कामेश्वर चौरसियाले बताए। ज्वरो आउने, बान्ता हुने, शरीर कमजोर हुने लक्षण सामान्य भएकोले नआत्तिन उनले आग्रह गरे। खोप केन्द्रहरूमा पोखरिया, भिखमपुर, बागेश्वरी तित्रौनालगायत अन्य स्थानबाट चिकित्सकहरूको टोली खटिने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here