वीरगंज–पथलैया सडकखण्ड निर्माणमा ढिलाइ बढ्दो गर्मीसँगै सडकमा पानी नछर्दा यात्रीहरूलाई समस्या

0

प्रस, परवानीपुर, २३ फागुन/
वीरगंज–पथलैया ६ लेन सडकको निर्माण कार्यमा ढिलाइ भइरहेको छ भने बढ्दो गर्मीसँगै सडक धूलाम्य हुँदा पनि ठेकेदार कम्पनीको लापरवाहीका कारणले यात्रीहरूले सास्ती खेप्नुपरेको छ। वीरगंज–पथलैया, वीरगंज–पोखरिया र सुक्खा बन्दरगाह–परवानीपुर सडकखण्डको काम भइरहेको लामो समय भएको छ। तोकिएको समयमा ठेकेदार कम्पनीले काम सम्पन्न गर्न सकेको छैन। यसै क्रममा यस वर्षको गर्मीयाम पनि बिस्तारै शुरू हुँदैछ। अन्तर्राष्ट्रिय राजमार्ग भएको कारण वीरगंज–पथलैया सडकखण्डबाट दैनिक हजारौंको सङ्ख्यामा मालवाहक, यात्रुवाहक र निजी सवारीसाधनहरू सञ्चालनमा छन्। तर सडक निर्माणमा भएको ढिलाइसँगै ठेकेदार कम्पनीले आफ्नो दायित्व अनुसार सडक धूलाम्य हुन नदिनका लागि धूलो सडकमा पानी छर्ने काम नगर्दा यो सडकखण्डमा गुड्ने सवारीसाधनहरूमा यात्रा गर्ने यात्री, चालकहरूले निकै समस्या भोग्नुपरेको छ। वीरगंज महानगरपालिका–१२ मुर्लीका राजकिशोर गुप्ताले वीरगंज–पथलैयाबीचमा गण्डक, परवानीपुर, जीतपुर, सिमरालगायत क्षेत्रमा ठेकेदार कम्पनीले सडक विस्तारको काममा ढिलाइ गरेको र धूलाम्य सडकमा पार्नी नछर्दा यात्रुलाई समस्या भइरहेको गुनासो गरे। उनले एकचोटि वीरगंजबाट पथलैया जाँदा पूरै कपडा बर्बाद हुने गरेको र धूलोले श्वासप्रश्वासमा कठिनाइसमेत भइरहेको बताए। गाडीहरूले पनि धूलो उडाउँदै हिंड्छन्, वीरगंज–२५ श्रीसियाका रामभजन ठाकुरले भने। उनले ड्राइपोर्टको लक्ष्मी आयलदेखि आइसिपीसम्म सडक विस्तार तथा तिलावे पुलको काममा पनि ढिलाइ गरेको र गर्मी बढेर धूलाम्य सडकमा पानी नछर्दा सो सडकखण्ड प्रयोग गर्नेलाई समस्या भएको छ। सरकारले सडक विस्तार वा पुल निर्माणको काम गराउन ठेक्का सम्झौता गर्दा सडकमा पार्नी छर्केर धूलो नउड्ने गरी सडकको कामलाई पूरा गर्नुपर्ने शर्त राखेको हुन्छ। तर ठेकेदारले चरम लापरवाही गरिरहेको उनको भनाइ। वीरगंज–पथलैया सडकखण्डमा पप्पु, एमआर कन्टेक, युनाइटेड, दिवा सपना जस्ता निर्माण कम्पनीहरूले काम गरिरहेका छन्। सडक विस्तारको नियमन गर्ने निकाय वीरगंज–पथलैया व्यापारिक मार्ग परियोजना कार्यालय पथलैया हो। तर उसको पनि उदासीनताको कारण यस भेगका जनताले सास्ती भोग्नुपरेको सर्वसाधारणको गुनासो छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here