प्रस, पर्सागढी, २१ फागुन/
वीरगंज महानगरपालिका–३१ स्थित भेडाहा खोला र पर्सागढी नगरपालिकाको सिंघाही खोलामा नदीजन्य पदार्थको उत्खनन पुनः शुरू भएको छ।
ठेक्का लागेर खोला उत्खनन हुँदै आएकोमा ठेक्का सकार गर्दा प्रारम्भिक वातावरणीय परीक्षण रिपोर्टको मापदण्डविपरीत कार्य भएको भन्दै जिल्ला अनुगमन समितिले माघ २० गते दुवै खोलामा उत्खनन अर्को निर्णय नहुन्जेलसम्म रोक्का राखेको थियो। जिल्ला अनुगमन समिति, पर्साका संयोजक जिल्ला समन्वय समितिका सभापति नेक महम्मद अन्सारीले कार्यविधि बनाएर खोलाको उत्खनन मापदण्ड अनुसार गर्न निर्देशन दिंदै शुरू भएको बताए।
वीरगंज महानगर–३१ भेडाहा खोलामा एक साताअगाडिदेखि उत्खनन भइरहेको छ भने पर्सागढी नगरपालिका अन्तर्गत सिंघाही खोलामा दुई दिनअघिदेखि उत्खनन शुरू भएको अनुगमन समितिका संयोजक अन्सारीले बताए। उनले कार्यविधि बनाइएको र सो पालना भए नभएको बारेमा नियमित अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिइएको तथा सोविपरीत गर्नेलाई कसूर अनुसार कारबाई गर्ने कार्यविधिमा उल्लेख रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here