प्रस, वीरगंज, १८ फागुन/
चालू आर्थिक वर्षमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले आफ्नो क्षेत्रमा कानूनविपरीत सञ्चालित एक सयवटाभन्दा बढी फर्मलाई कारबाई गरेको छ। यसरी कारबाई गर्दा ३० लाख रुपैयाँभन्दा बढी दण्ड जरिवाना असुल भएको सो कार्यालयले जनाएको छ।
बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरूको ब्रान्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्नेलगायतका १०५ वटा व्यापारिक प्रतिष्ठानलाई कारबाई गरी रु ३० लाख २३ हजार जरिवाना गरेको हो। यही फागुन १७ गते सोमवारसम्ममा २०५ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गर्दा सोमध्ये १०५ वटा फर्म कारबाईमा परेको कार्यालयको रेकर्डमा उल्लेख छ। दण्ड जरिवानामा परेकामध्ये पर्सामा एसआर रेडिमेड उद्योग वीरगंजलाई सबैभन्दा बढी रु ३ लाख जरिवाना भएको छ। उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो आफ्नो उत्पादनमा लगाउने गरेको पाइएको थियो। यसैगरी, वीरगंजकै जय अम्बे ट्रेड एन्ड जेनेरल अर्डर सप्लायर्सलाई रु दुई लाख ५१ हजार, गगन ट्रेडिङ हाउसलाई रु दुर्ई लाख जरिवाना गरिएको थियो।
त्यसैगरी, मकवानपुरतर्फ हेटौंडा उपमहानगरपालिका–३ स्थित घरसंसार पसललाई रु तीन लाख जरिवाना गरिएको थियो। सो व्यापारिक फर्मले बढी मूल्य लिएर उपभोक्ता ठग्दै पाइएको निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीले सञ्चारकर्मीलाई जानकारी गराए। कार्यालयले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्मको अवधिमा सप्तरी जिल्लामा ११ वटा फर्मको अनुगमन गरेको छ। त्यसैगरी, धनुषामा २०, महोत्तरीमा ६, सर्लाहीमा ३, रौतहटमा १७, बारामा ३, पर्सामा ७६, मकवानपुरमा १५ र चितवनमा २७ वटा गरी जम्मा २०५ फर्मको अनुगमन गरिसकेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here