प्रस, परवानीपुर, १७ फागुन/
आधुनिक युगमा खेती किसानी गर्न दैनिक ज्यालादारीमा कामदारहरू सहजै पाउने अवस्था छैन, जसको कारण कृषिमा यान्त्रीकरणको विशेष महत्वपूर्ण योगदान छ। तैपनि पर्सा जिल्लाका किसानहरू अनुदानको सुविधा उपभोग नगरी आफ्नै लगानीमा कृषिजन्य यन्त्र खरीद गर्छन्।
कृषि ज्ञान केन्द्र पर्साका अनुसार विगत एक महीनादेखि विभिन्न शीर्षकमा अनुदान सुविधाको लागि १२/१३ वटा सूचना प्रकाशित गर्दा पनि किसानहरूको आकर्षण देखिएको छैन। केन्द्रका निमित्त प्रमुख मुनीलाल प्रसादका अनुसार चालू आवमा कृषि यान्त्रीकरण शीर्षकमा विकासको क्षेत्रमा रु ४ करोड ४० लाख बजेट भए तापनि किसानहरूको न्यून सहभागिताले गर्दा ठूलो रकमको बजेट फ्रिज हुने अवस्थामा पुगेको छ। उनका अनुसार किसानहरूले अनुदानको सुविधा उपभोग गर्न श्रमदानको रकम दिने डरले निवेदन नदिने गरेको र निवेदन नदिंदा छनोट प्रक्रियाबाट वञ्चित हुँदै अनुदान सुविधा खेर जाने अवस्था सृजना भएको छ।
उनले भने, “सरकारले किसानका लागि ट्याक्टरमा जोडेर प्रयोग गर्ने थुप्रै यन्त्रहरू जस्तै हैरो, कल्टिभेटर, फार, लेभलर, थ्रेसर, स्वचालित रिपर, बोरिङ (स्यालो ट्युबवेल)लगायतका लागि सूचना प्रकाशित गरेको छ। तर फाटफुट किसानले मात्र निवेदन दिएका छन्।”
श्रमदानको रकम दिने डरले निवेदन नदिंदा बजेट नै फ्रिज हुने अवस्था आएकोले सम्पूर्ण किसानलाई समयमैं निवेदन दिन उनले अपील गरे। उनका अनुसार किसानले श्रमदान रकमको डरले निवेदन दिंदैनन् तर त्योभन्दा महँगो मूल्यमा निजी पसलबाट यन्त्र खरीद गर्ने रवैया दुःखदायी भएको जानकारी गराए। यस्तै, प्राविधिक तथा पूर्वप्रमुख डा यादवको उदासीनताका कारण करीब रु १४ करोडको बजेट पोहोर साल पनि फ्रिज भएको कृषि ज्ञान केन्द्र पर्साका कर्मचारी बताउँछन्।
निवेदन दिंदा करीब १ बिघा जग्गाको लालपुर्जा, नागरिकताको प्रतिलिपि र ट्याक्टरमा लाग्ने उपकरणको हकमा ट्याक्टरधनीको ब्लुबूक आवश्यक पर्छ तर यी सबै कुराका बारेमा सर्वसाधारण किसानलाई ग्रामीण भेगमा सही समयमा सही सूचना नपुग्दा उनीहरू निवेदन दिनट हिचकिचाउने गरेको बताइन्छ।
श्रमदानको रकम पचास प्रतिशतदेखि पचहत्तर प्रतिशतसम्म रहने गर्दा रीतपूर्वक निवेदन दिएर सेवा उपभोग गर्न आउने किसानहरूले कम्तीमा आधा मूल्यबराबर अनुदान सहयोग पाउने भए तापनि उनीहरू यो सेवाबारे गम्भीर नभएको केन्द्रका निमित्त प्रमुख मुनीलाल प्रसादको भनाइ छ।
केन्द्रले बोरिङ (स्यालो ट्युबवेल), कृषि यान्त्रीकरण, फलफूल तथा तरकारी बजारीकरण, बीउबिजन, हाटबजार शुद्धीकरण, पर्यावरण, ग्रेडिङ–प्याकेजिङ, गोदाम व्यवस्थापन तथा किसानलाई उपयुक्त तालीम र मरम्मत सम्भार जस्ता शीर्षकमा बजेट रहेको बताएको छ।
केन्द्रको गाडी पूर्वप्रमुखले लगे
कृषि ज्ञान केन्द्र पर्साको प्रमुख चढ्ने गाडी तत्कालीन प्रमुख डा रामचन्द्र यादवले लिएर गएका छन्। करीब ६ महीनाअघि सरुवा भएर कृषि ज्ञान केन्द्र महोत्तरीमा जाँदा उनले प्रपञ्च रचेर आफूसँगै उक्त गाडी लिएर गएको कृषि ज्ञान केन्द्र पर्साले गुनासो गरेको छ।
प्रदेश सरकार मातहत भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह र सो मन्त्रालयका सचिवको मिलेमतोमा प्रमुख चढ्ने पिकअप भ्यान उनले महोत्तरी लगेका हुन्। मन्त्रालयका सचिवलाई मिलाएर मन्त्रीको निर्देशनमा उक्त गाडी सरुवा भएर जाँदा हस्तान्तरण गराएको केन्द्र पर्साका निमित्त प्रमुख मुनीलाल प्रसादले आरोप लगाए। उनले भने, “हाकिम साहबको तानाशाही प्रवृत्तिका कारण कृषि ज्ञान केन्द्र पर्साको सम्पत्ति भए तापनि उनले निजी स्वार्थको लागि गाडी महोत्तरी लगेका हुन्। यसमा प्रदेश सरकारको ध्यान जान जरुरी छ र गाडी जसरी पनि फिर्ता गर्नुपर्छ।”
अहिले कार्यालयमा गाडी नहुँदा पुरानो गाडी मरम्मत गरेर उपयोग गर्नुपरेको र यात्रा गर्न र फिल्डमा जान समस्या भएको उनले बताए।