प्रस, रौतहट, १७ फागुन/
मौलापुर नगरपालिकाद्वारा आयोजना हुने विशेष महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी भइसकेको नगरपालिकाले जनाएको छ।
आइतवार मौलापुरको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा पत्रकार सम्मेलन गरी मेलाको पूर्ण तयारी भएको नगरपालिकाका उपप्रमुख गौरीशङ्कर जयसवालले बताए।
फागुन २५ गतेदेखि शुरू हुने मेलामा सतपोखरीको नाच, अयोध्याको वृन्दावन रासलीला, भारतीय एवं नेपाली कलाकारद्वारा विशाल दङ्गल कुश्ती हुने उपप्रमुख जयसवालले बताए। सोही क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले भारतीय कलाकार तथा नेपाली कलाकारहरूद्वारा विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप हुने बताए।
महाशिवरात्रि मेलाको उद्घाटन प्रदेश नं २ का प्रमुख राजेश झाले गर्ने कार्यक्रम तय भएको छ। सो अवसरमा मन्त्री, प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुखलगायत वडाध्यक्षहरूको सहभागितामा मेला उद्घाटन समारोह सम्पन्न हुनेछ।