प्रस, निजगढ, १७ फागुन/
फूटबल खेलको निरन्तर प्रशिक्षणविना नै निजगढ नगरपालिका–४ कछडियाबस्तीको निजगढ युवा क्लब ‘ए’ स्थानीयस्तरमा हुने फूटबल खेलमा फड्को मार्दैछ।
निजगढ फूटबल क्लबको आयोजनामा भर्खरै सम्पन्न तेस्रो मेयर कपको उपाधि हात पारेसँगै खेलाडीहरू मात्रै हैनन्, पूरै बस्तीमा खुशियाली छाएको छ। निजगढ नपाको रतनपुरीमा पहिलोपटक शुरू भएको प्रथम मेयर कप फूटबल प्रतियोगिता पनि सोही क्लबले जीत हात पा–यो। सो क्लब स्थानीयस्तरमा अग्रपङ्क्तिमा उभ्याउन दावेदार हुँदै आइरहेको छ। त्यस बेला प्रथम हुने क्लब वा टीमले ५० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्रलगायतका पुरस्कार हात पार्न सफल भएका थिए भने निजगढ–९ को शहीद हीरालाल रङ्गशालामा आइतवार भएको आयोजनामा तेस्रो मेयर कप फूटबल फाइनल खेल जीत हात पारेसँगै १ लाख नगद, ट्रफी, मेडल, प्रमाणपलगायतका पुरस्कार प्राप्त गरे।
विगत अढाई दशकयतादेखि अघिल्लो पुस्ता हुँदै अहिलेको पुस्ताले समेत फूटबल खेललाई निरन्तरता दिंदै गर्दा अहिले, नाति, पनाती पुस्ताले जीत हात पार्न थालेको हो।
साबिकको पुरानो निजगढ कछडियाबस्ती हालको निजगढ युवा क्लब ‘ए’ले त्यस बेला बर्सेनि हुने फूटबल खेलमा भाग लिए पनि एकाधबाहेकको अन्य प्रतियोगिताको उपाधि हात पार्न सकेका थिएनन्। अहिलेसम्म आइपुग्दा नाति, पनाति पुस्ताले जीत हात पार्दै आएकोमा त्यस बस्तीका अघिल्लो पुस्ताका खेलाडी, छोरा, नाति, पनाति पुस्ताका खेलाडी मात्रै होइनन्, पूरै बस्ती नैं खुशी छन्। ३०/३५ वर्ष उमेर र १५/१६ वर्ष उमेरका पुस्ता मिलेर मेयर कप फूटबल जीत हासिल गर्न सफल भएका छन् भने, पहिलो पुस्ताका अभिभावक, अग्रजहरू निरन्तर खेल खेल्न उनीहरूलाई हौंसाइ रहन्छन्। “राम्रो सम्भावना छ। तर तालीमप्राप्त प्रशिक्षकको व्यवस्था छैन। जसले गर्दा भएका कला, सीप, रहरलाई मनैमा धेरै खेलाडीहरूले मार्नु परिरहेको छ”–दोस्रो पुस्ताका पूर्व स्थानीय खेलाडी वासुदेव चौधरीले भने। स्थानीय तह बलियो भई रहँदा अहिलेसम्म प्रशिक्षकको व्यवस्था गर्न चासो नदिएको अधिकांश अग्रज फूटबल खेलाडी र खेलप्रेमीहरूको भनाइ छ। “हामीले पहिला पुरानो परम्परागत ढङ्गले खेल्यौं। त्यस बेलाको समय नैं त्यस्तै थियो। हामीले खेलेको खेललाई पछ्याउँदै छोरे, नाति, पनाति पुस्ताले खेल्दै आइरहेका छन् पहिलो पुस्ताका राम र लक्ष्मण कुमरले भने। अहिलेसम्म आइपुग्दा प्रविधिसँगै खेलको विकास अघि बढेकोले समय अनुसार उचित व्यवस्था गर्दै प्रशिक्षण दिने हो भने, राम्रो खेलाडी उत्पादन हुने निजगढका दोस्रो पुस्ताका खेलाडी धनबहादुर लामाले भने। कछडियाबस्तीका खेलाडीहरूलाई आफुले ५/७ वर्ष अघि पटक/पटक गरी ५ महीना प्रशिक्षण दिएको उनले बताए।
त्यसयता २०७२ सालको विनाशकारी भूकम्प आउनु केही दिनअघि राष्ट्रिय खेलकूद परिषदबाट फुटबल खेलका प्रशिक्षक सीताराम चौधरीलाई गाउँमैं ल्याइ एक महीना फूटबल खेलको प्रशिक्षण लिएको निजगढ युवा क्लब ‘ए’ टीमका क्याप्टेन राजकिशोर धामीले बताए। बेलैमा प्रशिक्षक ल्याइ खेलाडीहरूलाई प्रशिक्षण दिन सके। अहिले भएका खेलाडीहरूको गुणस्तर बढ्ने मात्र नभई नयाँ खेलाडीहरू पनि उत्पादन हुने क्याप्टेन धामीले बताए। अहिले सो टीममा एन्फाको छनोटमा परेका जन्मे धामी पनि छन्। उनी अन्डर १६ फ्रि—क्वालिफाइटको छनोटमा परि जोर्डन र भारतमा समेत खेलिसकेको निजगढ युवा क्लब ‘ए’ टीम क्याप्टेन राजकिशोर धामीले जानकारी दिए।
आफ्ना बस्तीका खेलाडीहरूलाई प्रशिक्षण दिन र नयाँ खेलाडीहरू उत्पादन गर्न मात्रै होइन। निजगढ नगरभरिकै फूटबल खेलाडीहरूका हकमा निजगढ नगरपालिकासँगै वडाले पनि खेल्नुपर्ने भूमिकामा बृहत् छलफल गरी अघि बढ्ने निजगढ नपा–४ का वडाध्यक्ष जयराम कुमरले बताए।
सो कछडियाबस्तीका युवाहरू पढाईका साथै फुटबल खेलमा अत्याधिक रूची राख्छन्। बेला बखतमा समेत जिल्ला बाहिर रहेका आफ्ना समुदायहरू बिच मैत्रीपूर्ण खेल समेत खेल्ने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here