प्रस, सिम्रौनगढ, १७ फागुन/
सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरमा गत शनिवार फेला परेको मूर्ति भगवान् विष्णुको रहेको पुष्टि भएको छ। नेपाल पुरातत्व विभागका अधिकृत सुशीलकुमार गौतमले फागुन १५ गते शनिवार सिम्रौनगढमा फेला परेको मूर्ति भगवान् विष्णुको भएको पुष्टि गरेका हुन्। उनले मूर्तिमा रहेको कमलको फूल, चक्र, शङ्खलगायत अन्य प्राविधिक कुराहरूबाट सो मूर्ति भगवान् विष्णुको भएको पुष्टि गरे।
रौतहटका विद्वान सन्तोषकुमार साहले पनि सो मूर्ति भगवान् विष्णुको रहेको बताएका छन्। गत शनिवार स्थानीय सुन्दरप्रसाद महतोको खेतमा पोखरी खन्ने क्रममा सो मूर्ति फेला परेको हो। त्यसपछि मूर्तिको आधिकारिकता प्रमाणित गर्न पुरातत्व विभागको टोली सिम्रौनगढ आइपुगेको हो।