प्रस, वीरगंज, १६ फाल्गुन/
जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड पर्साको अधिवेशन शनिवार राति सम्पन्न भएको छ। अधिवेशनले सङ्घको पर्सा अध्यक्षमा राजेश पडित कुम्हाललाई चयन गरेको छ।
अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको थियो। अध्यक्ष पदमा राजेश पडित र हरेरामप्रसाद पटेलले उम्मेदवारी दिएकोमा तीन मत बढी ल्याएर राजेश पडित विजयी भए। हरेरामप्रसाद पटेलले ५९ मत प्राप्त गरेका थिए।
त्यसैगरी, सङ्घको वरिष्ठ उपाध्यक्षमा असगर अलि अन्सारी निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी पन्नालाल महतोभन्दा १२ मत बढी पाएका थिए। उपाध्यक्षमा राकेश यादव विजयी भएका छन्। यादवले प्रतिद्वन्द्वी डिल्लीविक्रम कार्कीलाई १५ मतले पछि पारेका थिए।सङ्घको महासचिवमा ७१ मत प्राप्त गरी विष्णु बराल निर्वाचित भएका छन्। बरालका प्रतिद्वन्द्वी ईश्वरचन्द्र यादवले ४९ मत पाएका थिए। सचिवमा प्रभाकर गुप्ता चयन भएका छन्। उनले सचिव पदका अर्का प्रत्याशी प्रदीपप्रसाद पटेललाई पराजित गरेका हुन्। कोषाध्यक्षमा रामजी मुखिया बिनलाई पराजित गर्दै नगनारायण साह विजयी भए।
जम्मा १ सय ३३ मतदाता रहेको सङ्घको निर्वाचन प्रक्रियामा १ सय २१ जनाले मतदान गरेको निर्वाचन अधिकृत रामनारायण कुर्मीले जानकारी गराए। समितिका सदस्यहरूमा भगवती शर्मा, अरुणकुमार साह, गिरीराज कँडेल, कुन्दनप्रसाद र विजयकुमार गुप्ता चयन भएको निर्वाचन अधिकृत कुर्मीले घोषणा गरे।
सङ्घको लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा राजेन्द्रप्रसाद जयसवाल साथै सदस्यमा उदयनारायण साह र मनोज गुप्ता निर्विरोध निर्वाचित भएको निवार्चन अधिकृत कुर्मीले बताए।