प्रस, जनकपुरधाम, १६ फागुन/
न्याय नपाएपछि धनुषामा एकजना महिलाले आत्महत्या गरेकी छन्। धनुषाको औरही गाउँँपालिका वडा नं २ देउरी बस्ने रामजीवन यादवकी पत्नी ३६ वर्षीया विनीतादेवी यादवले आत्महत्या गरेकी हुन्।
गएको बिहीवार दिउँसो गाउँँकै एकजनाको खेतमा घाँस काटिरहेको बेला खेतधनीले उनीलगायत तीनजना महिलालाई साग चोरको आरोप लगाएका थिए। उनीहरूले आफूहरूले साग नचोरेको र घाँस मात्रै काटेको बताउँदा मुख लागेकोे भन्दै विनीतालगायत तीनैजना महिलालाई खेतधनीले कुटपिट गरेका थिए। आफूहरूमाथि अन्याय भएको भन्दै उनीहरू वडाध्यक्षकहाँ गुहार्न पुगे। वडाध्यक्षले पनि उनीहरूको कुरा नसुनी एकतर्फी निर्णय गरेर तीनैजनालाई जनही पाँच हजार रुपैयाँको दरले दण्ड जरिवाना तोकिदिए।
चोरीको झूटो आरोप, त्यसमाथि कुटपिट र न्याय माग्दा उल्टै दण्ड जरिवान तिर्नुपर्ने भएपछि निराश बनेकी विनीताले आफ्नो घरमा एक रुपैयाँ पनि पैसा नरहेको आफ्ना साथीहरूलाई बताएकी थिइन्। सोही क्रममा उनले आत्महत्या गरेको हुन सक्ने उनका साथीहरू सुमित्रा र बबिताले बताएकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here