रूढिवाद भनेको पुरानो, युगौंदेखि, पितापुर्खाले मानिआएको सिद्धान्त हो। त्यसैले परिवर्तनकामीले रूढिलाई अनावश्यक र त्याज्य मान्दछ भने यथास्थितिवादीले यसको निरन्तरतामा जोड दिन्छ। मानवीय व्यवहारलाई सन्तुलनमा राख्न प्राचीन समयदेखि नै नीति नियम बनाइएको हुन्छ। कालक्रममा समय परिवर्तन, मानिसको सोच, आवश्यकता, वैज्ञानिकता आदिले गर्दा परम्परादेखि चलिआएको सिद्धान्त अफाप हुन जान्छ। त्यसलाई त्यागेर नयाँ र आधुनिक सिद्धान्तको अनुकरण नै अग्रगमन हो। हाम्रो समाज धेरै पुरानो हो। समाज जति पुरानो हुन्छ र नियमनलाई जति स्थिर राखिएको हुन्छ, त्यसमा त्यत्तिकै धेरै समस्या उत्पन्न भएको हुन्छ। हाम्रो समाजमा महिला शिक्षामा वर्जना, बालविवाह, दाइजो प्रथा, छुवाछूत, जातीय विभेद, लैङ्गिक भेदभाव आदि आज त्याज्य सिद्धान्त बनेका छन्। यसको यो अर्थ होइन कि यी सिद्धान्त पहिले पनि त्याज्य थिए। कुनै पनि युगको आफ्नो धर्म हुन्छ। मानिसले आफूलाई प्रतिकूलताबाट जोगाउन धेरै वर्जनीय सिद्धान्तलाई कालक्रममा अँगालेको हुन्छ। प्रतिकूलता हटे पनि त्यसलाई पछ्याइरहनु चाहिं रूढिवाद हो।
आज सरकारले बालविवाहलगायत माथि भनिएका कुरामा प्रतिबन्ध मात्र लगाएको छैन, त्यसको निरन्तरतालाई दण्डनीय पनि बनाएको छ। तर पनि मानिस पितापुर्खाले गर्दै आएको, लामो समयदेखि चल्दै आएको रिवाजको फेरो छाड्न चाहँदैन। मानिसमा अज्ञानता हुन्छ, समाजका रूढिवादीहरूको दबाब हुन्छ, परम्पराको निहुँमा कसैको सर्वनाश गर्ने कुण्ठा हुन्छ, जसले कमजोर वर्गलाई रूढिवादबाट उम्कन दिंदैन। बालविवाहको मामिलामा छोरी तरुनी भई भने अरूसँग लहसेली, कुजातसँग पोइल जालीजस्ता भय देखाएर समाजले नै व्यक्तिलाई बालविवाहका लागि बाध्य पार्छ। यसमा व्यक्तिको सहारा बनेर कानून उभिदिनुपर्छ। तर कानून कार्यान्वयनकर्ताहरू आफैं पनि सोही समाजबाट आएका हुन्छन्। कानून परिपालनामा उदासीन भइदिन्छन्। होइन भने बालविवाह गर्ने दुई/चार जनालाई कानूनको कठघरामा उभ्याइदिने हो भने किन कोही बालविवाहका लागि तम्सिन्छ ? एउटा सामान्य उदाहरण लिएर हेरौं। गाँजाखेतीलाई कानूनले अवैध मानेको छ। तर प्रत्येक वर्ष प्रहरी डफ्फा हँसिया र खुकुरी भिरेर गाँजा पँmडानी गर्न पुग्छ। गाँजा आकाशमा त रोपिंदैन। कसैको जग्गामा रोपिएको हुन्छ। जसको जग्गामा गाँजा रोपिएको हुन्छ, त्यसलाई सजायको भागीदार बनाए त गाँजाखेती हुँदै हुँदैन। जनताको काम गर्न प्रहरीबल थोरै भएको गुनासो गरिन्छ, तर प्रहरीबललाई अनावश्यक कार्यमा जोताइन्छ।
सामाजिक विकृति भनेको समाजले मानेको र कानूनले अमान्य गरेको लोक व्यवहार हो। यसको समाप्ति समाजको स्वेच्छा वा नियमको कठोर पालनबाट मात्र सम्भव छ। हिजो इज्जत ठानिएको महिला पर्दा आज किन सबै ठाउँबाट निष्कासित भयो, हिजो त्याज्य मानिएको महिला शिक्षा आज किन ग्राह्य भयो, त्यो पनि सहशिक्षाका रूपमा ? यसमा कानूनको कडाइ र समाजको स्वीकृति दुवै थियो। जहाँ समाज मान्दैन त्यहाँ कानून, बालविवाह गर्ने वीरगंज–१६, लक्ष्मी टोलका व्यक्तिविरुद्ध उभिएजस्तै उभिन सक्यो भने कुनै कारण छैन, एक दशकभित्र यस कुप्रथाको अन्त नहोस् १ कुप्रथाको अन्त हुनु घुमाउरो पाराले समाजले स्वीकृति दिनु हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here