प्रस, वीरगंज, १५ फागुन/
नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ, प्रदेश नं २ अन्तगर्त पर्सा, बारा, रौतहत जिल्लाको प्रथम संयुक्त जिल्ला भेला तथा तथा प्रथम जिल्ला अधिवेशन शनिवार वीरगंजमा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले गरेका थिए।
कार्यक्रमका मुख्य अतिथि राज्यमन्त्री यादवले जडीबुटी तथा आयुर्वेदको माध्यमबाट मुुलुक समृद्ध बन्न सक्ने बताए। आयुर्वेद हाम्रो मुलुकको प्राचीन चिकित्सकीय पद्धति रहेको र वर्तमान विश्वमा आयुर्वेदको महत्व दिन प्रतिदिन बढिरहेको अवस्थामा मुलुकको सरकारले यसतर्फ पहलकदमी गर्न नसकेको बताए। मानव शरीरको लागि आयुर्वेद नै सबैभन्दा महत्वपूर्ण उपचार पद्धति भएको तथ्य विज्ञानले प्रमाणित गरिसकेको र हामीबाट अन्य मुलुकले सिकेर आधुनिक अङ्ग्रेजी औषधिको विकास गरेको चर्चा गर्दै उनले मुलुकमा प्राकृतिकरूपमा जडीबुटी उपलब्ध हुने र कतिपय जडीबुटीको व्यावसायिक खेती पनि हुने भएकोले यसतर्फ ध्यान दिन सके निरोगिताका साथै स्वरोजगारको प्रशस्तै सम्भावना रहेको भन्दै प्रदेश २ सरकारले यसको अध्ययन, पहिचान, उत्पादन, व्यवसाय प्रवर्धनतर्फ अधिकतम प्रयास गर्ने प्रतिबद्धता जाहेर गरे।नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ प्रदेश २ का अध्यक्ष श्यामसुन्दरको अध्यक्ष्Fतामा भएको कार्यक्रममा प्रदेशका विभिन्न जिल्लास्थित आयुर्वेद औषधिका व्यवसायी, आयुर्वेदसँग सम्बन्धित सङ्घ/संस्थाका पदाधिकारी, आयुर्वेद चिकित्सक, वैद्यलगायतको सहभागिता थियो।
सङ्घको बन्दसत्रमा पर्सा, बारा, रौतहटको छुट्टाछुट्टै जिल्ला कार्यसमिति गठन गर्ने कार्यक्रम रहेकोमा बारा र रौतहतको कार्यसमिति सौहार्दपूर्णरूपमा गठन भएपनि पर्सामा भने विवाद भएको छ।
पर्सा जिल्ला सङ्घको अध्यक्षमा राजेशकुमार गुप्ता र गणेश साह प्रतिस्पर्धामा रहेकोमा सहमति हुन नसकेपछि वादविवाद भएको थियो। प्रतिस्पर्धी समूहबाट गालीगलौजका साथै बलमिचाइँको अवस्था ल्याउन खोजिएको भन्दै गुप्तालगायत उनको प्यानलले कार्यक्रम बहिष्कार गरेर बाहिरिएको थियो। एकतर्फीरूपमा जिल्ला कार्यसमिति घोषणा गरिए मान्य नहुने र आफू अदालत जान बाध्य हुने अध्यक्ष पदका उम्मेदवार गुप्ताले चेतावनी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here