डा. रमेश मिश्र

आयुर्वेद एउटा सम्पूर्ण जीवन विज्ञान हो। यसमा एउटा व्यक्ति जन्मकालदेखि बुढेसकालसम्म कसरी स्वस्थ जीवन बाँच्न सक्छ र कुनै कारणले रोग लाग्यो भने उसको सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ। आयुर्वेदमा स्वस्थ जीवनयापनको लागि ऋतुचर्या, दिनचर्या तथा रात्रिचर्या विधिको व्यवस्था गरिएको छ।
सोही अनुसारको रहनसहन, खानपान हामी गर्छौं भने कहिले पनि रोगी हुँदैनौं र स्वस्थ जीवनयापन गर्न सक्छौं। वर्तमानमा अनुचित खानपान र रहनसहनले हामी धेरैजसो रोगको शिकार भइरहेका छौं। जति धन सम्पत्ति कमाए पनि घरघरमा रोगी व्यक्ति बढी भइसकेका छन्। धनसम्पत्ति जति भएपनि खाने बेलामा सोच्ने अवस्था आइसकेको छ।
स्वस्थ जीवनयापनको लागि ऋतु अनुसार रहनसहन र खानपान गर्नुपर्दछ। हाम्रा ऋषिहरूले वर्षलाई सूर्य र चन्द्रमाको गति विभेदबाट दुई भागमा विभाजन गरेका छन्, जसलाई अयन भनिन्छ। यी अयन दुईवटा छन् एउटा उत्तरायण र दोस्रो दक्षिणायन। उत्तरायणमा रात सानो तथा दिन लामो हुनाले एवं सूर्य रश्मिहरू प्रखर भएको कारण चराचरको शक्तिको शोषण हुन्छ। यस कारण यसलाई आदानकाल भनिन्छ र दक्षिणायनमा दिन छोटो र रात लामो हुनाले चन्द्रमाका मरीचिकाहरू प्रबल भएर पोषणको कार्य स्वाभाविकरूपमा स्वतः भइहाल्छ।
यी अयनका तीन/तीन उपविभाग छन्, जसलाई ऋतु भनिन्छ। स्थुलरूपमा उत्तरायणमा शिविर, वसन्त तथा ग्रीष्म ऋतु र दक्ष्Fिणायनमा वर्षा, शरद र हेमन्त ऋतु हुन्छन्। अतः पूरै वर्षमा ६ ऋतु हुन्छन्। आयुर्वेदमा दोषहरूको सञ्चय, प्रकोप तथा शमनको लागि ६ ऋतुलाई आधार मानिन्छ। अहिले वसन्त ऋतु हो। वसन्त ऋतुमा सबै दिशा रमणीय एवं विभिन्न प्रकारका फूलबाट सुगन्धित हुन थाल्छन्। यसबेला शीतमन्द हावा चल्न थाल्छ। यस ऋतुलाई ऋतुराज पनि भनिन्छ। शिशिर ऋतुमा मधुर, स्निग्ध आहार बढी सेवन गर्नाले र काल स्वभावले श्लेष्मा शरीरमा अधिकतर सञ्चय भएको हुन्छ र वसन्त ऋतुमा सूर्यको रश्मिहरूबाट तप्त भएर कफ जलस्वरूप भएर जठराग्नि मन्द हुन्छ। अतः यसको राम्रोसँग व्यवस्था गर्नुपर्दछ।
कफश्चितो हि शिशिरे वसन्तेऽर्काशुतापितः।
हत्वादग्नि कुरूते रोगानतस्यं त्वत्मा जयते।।
अ.ह.सु. ऋतु ३।१८)
यसको लागि कफ निस्सारक औषधिहरूबाट पञ्चकर्मको वमन गराएर शरीर शुद्ध गर्नुपर्दछ। योग, उबटन, कटु, तिक्त आहार, प्रातः भ्रमण गर्नुपर्दछ।
यस ऋतुमा शरीरमा जम्मा भएका कफ निस्कन खोज्दछ। अतः प्रत्येक व्यक्तिलाई धेरै–थोरै रुघाखोकी हुन्छ। रुघाखोकी लाग्दैमा औषधि तुरुन्तै सेवन गर्नुहुँदैन। बरु यस ऋतुमा शरीरबाट कफ निस्कन दिनुपर्दछ। यस ऋतुमा गुलियो, अमिलो, दही, आइसक्रिम खानुहुँदैन साथै गरिष्ठ भोजन गर्नुहुँदैन। यस ऋतुमा दिउँसो सुत्नुहुँदैन।  तुलसी, अदुवा, मरिचको क्वाथ बनाएर बिहान सेवन गर्नुपर्दछ।
– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, वीरगंज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here