प्रस, सिराहा, १३ फागुन/
आफूहरूलाई पढाउने शिक्षकले तलब नपाएपछि विद्यार्थीहरू आन्दोलित भएका छन्। शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिराहाको लक्ष्मीपुर पतारी गाउँँपालिका–५ खरूक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन्।
बितेको एक वर्षदेखि शिक्षकले तलब नपाएपछि विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। निजी स्रोतमा कार्यरत विद्यालयका चारजना शिक्षकले गत चैत महीनादेखि तलब पाएका छैनन्। तलब नपाएको भन्दै शिक्षकले पढाउन छाडेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत अंशु यादवले बताए।
कोभिड–१९ का कारण भएको लकडाउनपछि विद्यालय खुले पनि विद्यालयले तलब दिने कुनै कुरा नगरेको हुँदा आफूहरू अति समस्यामा परेकोले कक्षामा जान छाडेको शिक्षकहरू बताउँछन्। आफ्नो शिक्षकको समस्याका साथै पठनपाठन अवरुद्ध भएपछि विद्यार्थीहरू पनि समस्यामा परेकाले उनीहरू स्वस्फूर्तरूपमा आन्दोलित भएको निजी स्रोतका शिक्षकहरू बताउँछन्।
शिक्षकलाई तत्काल तलब उपलब्ध नगराए गाउँपालिका कार्यालयमैं तालाबन्दी गर्ने विद्यार्थीहरूले चेतावनी दिएका छन्। तालाबन्दीका कारण बितेको बुधवारदेखि विद्यालयको पठनपाठन अवरुद्ध भएको छ।
विद्यालयले लामो समयसम्म पारिश्रमिक नदिंदा घर खर्च चलाउनसमेत समस्या भएको र मानसिक तनाव थपिएको निजी स्रोतमा कार्यरत शिक्षक शिवनारायण यादवले दुःखेसो पोखेका छन्। सो सम्बन्धमा विद्यालयका निमित्त प्रधानाध्यापक अरुणकुमार यादवले भने शिक्षकको तलबका विषयमा गाउँपालिकालाई पटक–पटक लिखित अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको बताए।
यसबारे लक्ष्मीपुर पतारी–५ का वडाध्यक्ष महेन्द्र साहले शिक्षकलाई तलब खुवाउने विषयमा गाउँपालिकासँग समन्वय भइरहेको र चाँडै शिक्षकलाई तलब खुवाउने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here