माधव तिमिल्सेना, १२ फागुन/
पर्साको ठोरी गापा–२ इच्छानगरमा विद्युत् आपूर्ति बन्द भएको चार दिन बित्दासमेत विद्युत् प्राधिकरणले मर्मतमा चासो देखाएको छैन। बितेको आइतवार ठोरी–२ मा पर्ने ठुटेखोलामा हुलाकी सडक निर्माणको क्रममा गाडीको ठक्करबाट बिजुलीको पोल भाँचिएपछि मरम्मत नहुँदा इच्छानगरवासी अन्धकारमा बस्न बाध्य भएका हुन्।
हुलाकी सडक निर्माण गरिरहेको बानियाँ निर्माण सेवाको गाडीको ठक्करबाट पोल भाँचिएर विद्युत् अवरुद्ध भएको चार दिन बित्दासमेत प्राधिकरण मर्मत गर्न नआएको स्थानीयको गुनासो छ। प्राधिकरणको सुवर्णपुर फ्युज सेवामा पटक–पटक अनुरोध गरेको भएपनि भोलि–भोलि भन्दै आलटाल गरेको इच्छानगर प्राथमिक विद्यालयका शिक्षक होमनाथ पौडेलले बताए। उनका अनुसार प्राधिकरणको लापरवाहीको कारण इच्छानगरका ९० घरधुरी अन्धकारमा बस्न बाध्य छन्।
यस सम्बन्धमा विद्युत् प्राधिकरणको सुवर्णपुर फ्युज सेवाका इन्चार्ज रामलाल साहसँग बुझ्दा बिहीवारसम्म मर्मत गरेर विद्युत् सुचारु गरिने जानकारी दिए।