प्रस, वीरगंज, १२ फागुन/
नेपाल तेक्वान्दो महासङ्घले अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) बाट सदस्यता पाएको छ।
फेबु्रअरी २१ मा आइटिएफ हेडक्वाटरको कार्यसमितिको बैठकले नेपाल तेक्वान्दो महासङ्घको सदस्यता आवेदन स्वीकृत गरेको महासचिव सुदिपचन्द्र बख्रेलले जानकारी दिए। अध्यक्ष दिनेश शर्मालाई आइटिएफ हेडक्वाटरले इमेल गरी आधिकारिक पत्र पठाएको उनले बताए।
महासचिव बख्रेलका अनुसार नेपाल तेक्वान्दो महासङ्घ विश्वका विभिन्न तेक्वान्दो संस्थासँग सम्बन्धन लिएर नेपालमा तेक्वान्दोको विकास र विस्तारमा लागिपरिरहेको छ। महासङ्घले विश्व सङमोक्वान सङ्घ (अमेरीका), तेक्वान्दो अन्तर्राष्ट्रिय (बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ युनियन (आयरल्यान्ड), अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासङ्घ (स्पेन) र विश्व तेक्वान्दो परिषद् (जर्मनी)सँग सहकार्य गरिरहेको छ।
महासङ्घमा नेपाल परम्परागत तेक्वान्दो महासङ्घ, इन्टरनेशनल चाङहोन तेक्वान्दो महासङ्घ नेपाल, आइटिएफ नेपाल, नेपाल सङमोक्वान सङ्घ र साङरोक नेपाल तेक्वान्दो एकेडेमीलगायत सङ्घहरू आबद्ध छन्।