सर्वोच्चले फैसला ग–यो, प्रतिनिधिसभा पुनस्र्थापन भयो। यसमा धेरैले खुशी मनाए, केहीलाई दुःख भयो। धेरैले खुशी मनाउनु प्रासङ्गिक छ, किनकि गरीब देशले घरीघरीको निर्वाचन बेहोर्न सक्दैन। साथै यसले नेपालमा घरीघरी राजनीतिक आन्दोलन भइरहने र आन्दोलनपछि अर्कोअर्को संविधान बन्ने प्रक्रियालाई थान्को लगाएको छ। राजनीति गर्ने, सत्तामा बस्ने व्यक्तिहरूले आफेैंलाई सर्वेसर्वा ठान्ने, आफूलाई संविधानमाथि ठान्ने, आफ्नो स्वार्थ अनुकूल संविधानको व्याख्या गर्ने कार्यमा समेत यस निर्णयले रोक लगाएको छ। राजनीतिक कार्यकर्ता वा नेताले राजनीति गर्नु, सैनिकले लडाइँ गर्नु, किसानले खेती गर्नु अहम् कर्तव्य हो। तर सैनिकले लडाइँको बेला बन्दूक छोडेर विभिन्न अत्तो थापी भाग्नु कायरता हो, किसानले कुनै पनि कारणले खेती छाड्नु दायित्वहीनता हो भने राजनीतिक व्यक्तिले परेको अप्ठ्यारोको सामना गर्नुको साटो देशलाई नै असमञ्जसमा पार्ने गरी उम्कने दाउ खोज्नु गैरजिम्मेवारीको पराकाष्ठा हो। प्रधानमन्त्री ओलीले आज हार बेहोरे, उनले आसन्न अविश्वासको सामना गरेको भए पनि हार नै बेहोर्थे होलान् तर त्यसको सामनामा बहादुरी हुन्थ्यो। आजको हार पराजय र धृष्ठता मात्र हो।
यो अवस्था किन आयो, देशमा यसले के अवस्था निम्त्याउँछ, अबको बहसको विषय त्यो बनेको छ। हामीकहाँ सत्तालाई यति महत्व दिइन्छ कि सत्ता प्राप्तिका लागि जस्तोसुकै निर्घृणी कार्य पनि उचित लाग्छ। हामीकहाँका राजनीतिक व्यक्तिहरू ‘साधु बन्नका लागि राजनीति गरेको होइन’ भन्छन्। सत्तामा बस्न जसको सामु पनि निवेदन पेश गर्न हच्किंदैनन्, नरसंहार गर्न उद्यत हुन्छन्। सत्ता प्राप्त गर्नकै लागि देशको कोष रित्याएर प्राडो–पजेरो दिन्छन्, विदेशमा सयर गराएर अनुचित धन्धामा समेत संलग्न गराउँछन्। सत्ता प्राप्त भइसकेपछि भ्रष्टाचारको आहालमा चुर्लम्म डुब्ने कुरा त यहाँको लागि सदाचार नै बनिसकेको छ। यी र यस्ता कर्तुत देशभित्र गरिन्छ भने सत्ता प्राप्तिका लागि, सत्तामा निरन्तरताका लागि विदेशीहरूको सामु घुँडा टेक्नुलाई पनि पुरुषार्थमैं दरिन्छ। सर्वोच्चको फैसलाले एउटा विकृतिलाई रोक्यो तर अर्को विकृति अब झाङ्गिने बेला आएको छ। अब सत्ताका लागि समीकरण बन्छ, कसैलाई उचालिन्छ, कसैलाई थचारिन्छस न उचालिनुको कुनै नैतिक सीमा हुन्छ र थचार्नुको। यसरी राजनीतिलाई फोहरी बनाएर फोहरमा रमाउनेहरूको खुदो पल्टेको अवस्था बनेको छ। नागरिक समाज सामुन्ने देखिएको विकृतिको, त्यो पनि टडकारो विकृतिसँग जुध्न, सडकमा त ओर्लन्छ, तर सत्ता समीकरणका लागि हुने अव्यवस्था, अनैतिकता र स्वार्थन्ध कामकारबाईप्रति नितान्त सम्यक भाव प्रदर्शित गर्दछ। विकृतिबाट विकृति नै जन्मन्छ। ओली त्यही विकृतिका देन थिए। उनी पछि आउने पनि त्यही विकृतिमा लुटपुटिएका हुनेछन्।
राजनीतिक दलहरू, सर्वोच्चको फैसलामा, कोही खुशी मनाऊन्, कोही दुःख मनाऊन् तर नागरिक समाज र यसका अगुवाहरूले सत्तालाई प्रधान मानेर हुने गरेका यावत् दुष्चक्रहरूको समाधान नखोज्ने हो भने देशले सदैव यस्ता दुर्नियति भोगिरहनुपर्नेछ। नजीरको परिपालनामा सबैको एकनिष्ठ भाव हुनुपर्छ। अन्यथा नजीर त पहिले पनि बसेकै हो। सर्वोच्चले नै कहिले सदर र कहिले बदर गरेकै हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here