प्रस, वीरगंज, ९ फागुन/
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबूराउत गद्दी र वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले आइतवार भोजपुरी प्रतिष्ठान भवनको शिलान्यास गरेका छन्।
भवन शिलान्यास गर्दै मुख्यमन्त्री गद्दीले भोजपुरी भाषालाई कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिए। भोजपुरीभाषीहरूले आफ्नै भाषाको रक्षा गर्न नसकेकोमा उनले दुःख व्यक्त गरे। मातृभाषा आमाको दूध जस्तै भएको बताउँदै अन्य भाषा डेरीको दूध जस्तो हुने बताए। वीरगंज महानगरले भोजपुरी प्रतिष्ठान बनाएर भोजपुरी भाषालाई बचाउने कार्य गरेकोमा उनले धन्यवाद दिए।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा भवन शिलान्यासपछि आयोजित बहुभाषिक कवि सम्मेलनमा बोल्दै उनले आफ्नो भाषा, संस्कृति, कला, भेषभूषाको संरक्षणमा सोही समुदाय अग्रसर हुनुपर्ने बताए। भोजपुरी भाषामा रहेको शब्दको भण्डार अन्य भाषामा नरहेको बताउँदै उनले आफ्नै व्याकरण, साहित्य रहेकोले पुरानो भाषाको रूपमा रहेको बताए। उनले कुनै समुदायको इतिहास मेटाउनु छ भने भाषा, संस्कृति र कलालाई लोप बनाए मात्र पुग्ने उनले जिकिर गरे। उनले राज्यले अहिलेसम्म भोजपुरी भाषालाई ओझेलमा पारेको बताए। उनले वीरगंजमा भोजपुरी साहित्यका भीष्म पितामहको रूपमा परिचित पण्डित दीपनारायण मिश्रको सालिक बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए।
भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले आफ्नो भाषामा कृति लेखेर प्रसिद्ध साहित्यकारहरू विश्वमञ्चमा परिचित भएको बताए। उनले हीनताबोधबाट माथि उठेर राष्ट्रिय, अन्तराष्ट्रिय मञ्चमा भोजपुरी भाषामा आफ्नोे एजेन्डा राख्नुपर्नेमा जोड दिए।
वीरगंज महानगरका प्रमुख सरावगीले आजदेखि महानगरको कार्य भोजपुरी भाषामा शुरू भएको बताए। उनले महानगरमा भोजपुरी भाषामा निवेदन दर्ता गराउन सकिने बताउँदै बिस्तारै सबै कार्य भोजपुरीमा हुने आश्वासन दिए। भवन निर्माणका लागि अहिले सिड मनीको रूपमा सो रकम दिएको र आवश्यकता अनुसार सहयोग गर्ने बताए। उनले भोजपुरी साहित्यकार पण्डित मिश्रको स्मृतिमा १ लाख नगदसहित तीनवटा पुरस्कार प्रदान गरिने घोषणा गरे।
प्रतिष्ठानका अध्यक्ष उमाशङ्कर द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका नेता लक्ष्मणलाल कर्ण, प्रदीप यादवलगायतले मन्तव्य राखेका थिए।
प्रतिष्ठान निर्माणका लागि चालू आवमा रु ५० लाख वीरगंज महानगरपालिकाले विनियोजन गरेको छ। प्रतिष्ठानको तीन तले भवन बनाइने र भुइँतला व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउने, पहिलो तलामा प्रतिष्ठानका पदाधिकारी कक्ष, विभिन्न विभाग र बैठक हल, दोस्रो तलामा हल र तेस्रो तलामा नाट्य, सङ्गीत, कला सम्बन्धित संरचना रहने गरी डिपिआर तयार भइरहेको प्रतिष्ठानका सदस्य रितेश त्रिपाठीले जानकारी दिए।