‘विकास, अनुशासन र गतिशीलता’ खेलकूदको मूल मन्त्र हो। जुन समाज खेलकूद क्षेत्रमा अगाडि बढेको छ, त्यस समाज विकास निर्माणमा अगाडि बढ्नुका साथै, अनुशासित र गतिशील हुन्छ। स्वास्थ्य तथा शारीरिक तन्दुरुस्तीका लागि खेलकूद नभई नहुने पक्ष हो। खेलकूद क्षेत्रसँग आर्थिक गतिविधि पनि जोडिएको छ। खेलकूद भइरहने क्षेत्र आर्थिक समृद्धितर्फ अगाडि लम्किरहेको हुन्छ। पालिकास्तरमा हुने एउटा सामान्य खेलकूद प्रतियोगिताले पनि त्यहाँको आर्थिक गतिविधि चलायमान भइदिन्छ। यातायात व्यवसायी, चिया/नास्ता पसललगायत यससँग जोडिएर आउने अन्य व्यापार–व्यवसायहरू खेलकूदको कारण फस्टाउने मौका पाउँछ। खेलकूदले मित्रता तथा भाइचारा सम्बन्ध स्थापित हुनुका साथै देश पहिचान उँचो गराउँछ।
स्थानीयस्तरको खेलकूद बलियो भए मात्रै राष्ट्रियस्तरको खेलकूद बलियो हुन सक्छ। राष्ट्रिय खेलाडी उत्पादनको भट्टी स्थानीय घर, आँगन नै हो। केही वर्षयता नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहेका छन्। खेलकूद क्षेत्रको विकासको लागि खेलाडीलाई प्रोत्साहित गर्ने सरकारको नीति तथा कार्यक्रम हुनुपर्छ। परिवर्तित खेल नीति तथा कार्यक्रमको कारण हाम्रो राष्ट्रिय खेल क्षेत्र सफलता उन्मुख भएको हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीको लागि अब जीवन निर्वाह गर्न हाम्रो मुलुकमा पनि त्यति गा–हो छैन। अन्तर्राष्ट्रियस्तरका पदक विजेताहरूलाई सरकारले पनि राम्रै सम्मान गर्ने गरेको छ। तर पछिल्लो समय स्थानीयस्तरको खेलकूद क्षेत्रमा भने केही नकारात्मक संस्कार हावी हुन थालेको छ। स्थानीयस्तरका खेलाडीहरूको क्षमता विकास एवं वृत्ति विकास तथा आर्थिक समृद्धितर्फको प्रतिस्पर्धाभन्दा पनि आयातित (बोरो) खेलाडी खेलाउने प्रतिस्पर्धा चलेको छ। कुनै चाडपर्व होस् या मौसमअनुकूल भएको फुर्सदको समय होस्, स्थानीयस्तरमा खेलकूद प्रतियोगिताहरू भइरहेका हुन्छन्। खेलकूद क्षेत्रमा युवा विद्यार्थीहरूको सहभागिता हुने भएकाले पनि यस्ता प्रतियोगिताहरूतर्फ समाजका अगुवा, व्यापारी, उद्यमीका साथै पालिकाको ध्यानाकर्षण नहुने कुरा रहेन।
खेलकूद प्रतियोगिताका लागि विभिन्न क्षेत्रबाट लाखौं रकम जुटाइएको हुन्छ। तर यसरी जुटाइएको रकम आयातित खेलाडी (बोरो) खेलाडीको लागि खर्च भइरहेका हुन्छन्। धेरैजना स्तरीय खेलाडीलाई आफ्नो टिमबाट खेलाउने प्रतिस्पर्धामा सम्बन्धित क्षेत्रभन्दा बाहिरका स्वदेशी/विदेशी खेलाडीहरूले स्थानीय टीमबाट खेलिरहेका छन्। विशेषगरी फूटबल र क्रिकेट प्रतियोगितामा यस्तो हुने गरेको छ। कुनै कुनै खेलमा त टीमको नाम मात्रै स्थानीय हुन्छ। यसरी महँगा बाहिरी खेलाडी खेलाउँदा स्थानीय खेलाडीहरूको काम भनेको बजेट सङ्कलन गर्ने, आयातित खेलाडीको सेवा गर्ने र भने जति रकम भुक्तानी गरेर पठाउने मात्रै हुन्छ। खेल जितेको छ भने त पुरस्कार राशिमा केही रकम थपेर दिंदा पनि हुने भयो। यदि बाहिरी खेलाडी ल्याउँदा खेल हारियो भने त बजेट धान्न नै गा–हो हुन्छ। स्थानीयस्तरको पूँजी यसरी बाहिरिरहेको छ भने स्थानीय खेलाडीको सीप तथा क्षमता विकास हुन पाएको छैन। खेलाडी आयात गर्ने प्रतिस्पर्धा नराम्ररी झाँगिदो छ। यसलाई नियन्त्रण गर्ने र स्थानीय खेलाडीको विकास हुने गरी स्थानीय सरकारहरूले आआफ्नो क्षेत्रमा स्पष्ट नीति तथा कार्यक्रमहरू बनाउनु जरुरी छ।