प्रस, निजगढ, ८ फागुन/
निजगढमा जारी तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिताको शनिवार सम्पन्न क्वाटरफाइनल खेलमा विजयी बन्दै योङ्गस्टार युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वाटरफाइनलमा एफसी कोलगाउँलाई २–१ गोलअन्तरले पराजित गर्दै योङ्गस्टार सेमिफाइनलमा प्रवेश गरेको हो।
योङ्गस्टारको जीतमा खेल शुरू भएको २०औं मिनेटमा अरुण लामाले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलको ७३औं मिनेटमा कोलगाउँका विराज लामाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। कोलगाउँले खेल बराबरी गरेको एक मिनेटपश्चात् नै योङ्गस्टारले प्राप्त गरेको कर्नरमा अनिल लामाले हेडमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए।
कोलगाउँले खेलमा फर्कने निरन्तर प्रयास गरे पनि गोल हुन नसकेपछि योङ्गस्टारले नतीजा आफ्नो पक्षमा पा–यो। खेलको म्यान अफ दि म्याच योङ्गस्टारका कप्तान रोशन लामा भए। सेमिफाइनल प्रवेशका लागि अन्तिम क्वाटरफाइनलको खेलमा आइतवार बाघभैरव युवा क्लब र निजगढ युवा क्लब ‘ए’बीच प्रतिस्पर्धा हुनेछ। बाघभैरवले निजगढ युनाइटेडलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने निजगढ युवा क्लब ‘ए’ले निजगढ–१३ युवा क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। उक्त खेलहरू शहीद हीरालाल रङ्गशालामा भइरहेको छ।
त्यस्तै, शुक्रवार सम्पन्न क्वाटरफाइनल खेलमा हिमाल युवा क्लब विजयी भएको थियो। रतनपुर युनाइटेड युथ क्लबलाई टाइब्रेकरमा ३ का विरुद्ध ४ गोल गरी हिमाल सेमिफाइनलमा प्रवेश गरेको हो।
निकै कडा प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टीमका खेलाडीले कुनै गोल गर्न नसकेपछि टाइबे्रकरमार्फत खेल छिनोफानो भएको थियो। निर्धारित खेल अवधिभर रतनपुर युनाइटेडका खेलाडीहरूले प्रहार गरेका बल हिमालका गोलरक्षक प्रमिश गुरुङले पटक–पटक विफल पारेका थिए।
रतनपुर युनाइटेडका आशालाल कुमर, सूर्य गुरो, बादल गुरोलगायतले गोल गर्न निकै प्रयास गरे।
टाइब्रेकर प्रहारको समयमा हिमालका वर्षात लामाले खेल मैदानभित्रै जर्सी खोलेपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदानबाहिर पठाए। हिमालका चारजनालाई पहेंलो कार्ड देखाउँदै अनुशासनभित्र रहन रेफ्रीले सचेत गराएका थिए।
हिमालका म्यान अफ दि म्याच अमित सञ्जेललाई पत्रकार गोकुल घोरसाइने र निजगढ नपाकी कार्यपालिका सदस्य मनमाया तामाङले संयुक्तरूपमा ट्रफी प्रदान गरेका थिए।