प्रस, ठोरी, ७ फागुन/
ठोरी गाउँपालिकामा नेपाली काङ्ग्रेसको वडासमिति गठन भएको छ। गापाका पाँचवटै वडामा नेपाली काङ्ग्रेसको वडासमिति गठन भएको स्थानीय सन्तोष श्रेष्ठले बताए।
ठोरी गापामा नेकाका कार्यकर्ताहरू वडास्तरमा सक्रिय रहे पनि पार्टी कार्यालय नहुँदा पार्टीको गतिविधि सञ्चालनमा सहजता नभएको भन्दै समिति गठन गरिएको उनले बताए।
ठोरी गापा–१ दीपकनगर, २ गौतमनगर, ३ ब्रह्मनगर ढुङ्गेबजारमा पार्टी कार्यालय स्थापना गरिएको छ भने वडा नं ४ को विजयबस्ती र ५ को सुवर्णपुरमा वडासमिति गठन गरिएको छ।
यसैगरी, ठोरी गापासँगै पर्सा क्षेत्र नं ४ का सबै वडामा पार्टी कार्यालय स्थापना गरिएको बताइएको छ। मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर नेपाली काङ्ग्रेसले वडास्तरबाट पार्टीको संरचना अगाडि बढाउने नीति राख्दै वडासमिति कार्यालय गठनमा तदारूकता देखाएको हो।
वडासमिति कार्यालयहरूको उद्घाटन गर्ने क्रममा प्रदेशसभा सदस्य शङ्करप्रसाद चौधरीले वीरगंज–ठोरी हुलाकी सडकखण्डमा नपरेको जीराभवानी गापाको गम्हरिया हुँदै सुवर्णपुर भएर ओरिया पुल जोड्ने सडक छिट्टै कालोपत्रे गर्ने आश्वासन दिए। उनले प्रदेशसभा सदस्यलाई पाँच किलोमिटर सडक कालोपत्रे बनाउने अधिकार प्रदेश सरकारबाट निर्णय भएबमोजिम आफूले सो ठाउँमा कालोपत्रे गर्ने बताए।
यसैगरी, नेपाली काङ्ग्रेसको धोबिनी गाउँपालिकामा वडासमिति गठन गरिएको छ। प्रजातन्त्र दिवसको अवसरमा धोबिनी गापाका पाँचवटै वडामा वडा कार्यालय सञ्चालनमा आएको छ। वडा नं १ का सभापति गणेश साह, २ का सभापति रामाशिष कुर्मी, ३ का सभापति वासुदेव तिवारी, ४ का सभापति मजिद मियाँ र ५ का सभापति गया यादवको अध्यक्षतामा आयोजित वडासमिति कार्यालय सञ्चालनको उद्घाटन प्रमुख अतिथि महासमिति सदस्य वशिष्ठनारायण कुर्मीले गरेका थिए।
कार्यक्रममा जोगिन्द्र साह, धर्मेन्द्र पटेल, बलिष्ठर अहमद, बन्धु साह, राजकिशोर पटेल, कर्मुल्लाह अन्सारीलगायतको सहभागिता थियो।