अरूलाई सिध्याउन खोज्नेहरू आफैं सिद्धिन्छन्। प्रदेश–२ स्थित केही चिनी उद्योगमा उपरोक्त कथन लागू भएको छ। जुन–जुन उद्योगहरूले उखु कृषक र उपभोक्ताको सधैं कुभलो चिताइरहन्छन्, ती उद्योगहरूको लगानीसमेत डुब्ने अवस्थामा छ। किसानले ऋण गरेर उत्पादन गरेको उखु,  उद्योगलाई बुझाएको ३/४ वर्ष बितिसक्दा पनि किसानले भुक्तानी पाएका छैनन्। सोही कारण कैयौं किसान विस्थापित भए। भुक्तानी माग गर्दै आन्दोलनको क्रममा कतिपयले ज्यानसमेत गुमाएका छन्। नगदेबाली उत्पादन गरेर उधारोमा दिंदा समेत किसानलाई ठगी गर्ने केही उद्योगले उपभोक्तालाई पनि बाँकी राखेनन्। प्रतिस्पर्धा गर्न नसक्ने उद्योगहरूले सरकारलाई दबाब दिएर भारतीय चिनीको कोटा सीमित गरिदिए। यसले सर्वसाधारणलाई महँगो चिनी उपभोग गर्न बाध्य पा–यो। खुला प्रतिस्पर्धा हुँदा ५० रुपैयाँ प्रतिकिलोमा पाउने चिनी, बजारमा स्वदेशी उत्पादनको एकाधिकार हुँदा प्रतिकिलो ८०/९० रुपैयाँको दरमा खरीद गर्नुपरेको छ। उपभोक्तालाई सुलभ, सहज र गुणस्तरीय सामग्री चाहिएको हो। यसमा स्वदेशी र विदेशीको मतलब हुँदैन। कुनै पनि मुलुकमा राष्ट्रवादी आन्दोलन एवं अभियानको समयमा बाहेक उपभोक्ताको सोच एकै किसिमको हुन्छ। यसमा राष्ट्रप्रति माया नगरेको भन्न मिल्दैन, किनभने बाहिरबाट आउने उत्पादनमा उपभोक्ताले राष्ट्रको लागि कर तिरिरहेको हुन्छ। फेरि पनि स्वदेशी चिनी उद्योगलाई बढावा दिने नाममा खुला विश्व बजारको अवधारणाविपरीत नेपाली उपभोक्ता महँगो मूल्यमा स्वदेशी चिनी उपभोग गर्न बाध्य छन्।
    यसरी जोगाएको स्वदेशी चिनी उद्योगले किसानको भुक्तानी नदिएको कारण यस वर्ष किसानले चिनी उद्योगलाई उखु दिएनन्। गाउँटोलमा सञ्चालित खाँडसारीलाई उखु दिएर सख्खर उत्पादन गर्नु किसानले उत्तम ठाने। चिनी उद्योगको कारण हतोत्साहित भएका धेरै किसानले उखुखेती गर्न छाडिसकेका छन्। थोरै किसानले उखु लगाएकोमा त्यो पनि सख्खर उद्योग र समयमा पैसा भुक्तानी गरेका चिनी उद्योगलाई मात्र उखु दिए। पैसा भुक्तानी नगर्ने उद्योगहरूले यसपटक क्रसिड्ढो समयमा नगद बोकेर खेतमा जाँदा पनि उखु पाएनन्।      त्यस्ता उद्योगले २/४ वर्ष यसैगरी उखु नपाउने हो भने मेशिन उपकरणमा खिया लाग्न सक्छ।
    उखु उत्पादक किसानलाई जति जोखिम छ, त्यति चिनी उत्पादनमा उद्योगीलाई छैन। खरीद गरिएको उखुबाट उत्पादन हुने चिनी र बजारसम्म पु–याउँदा लाग्ने खर्चलाई मध्यनजर गरी नाफासमेत राखेर चिनीको मूल्य निर्धारण गरिएको हुन्छ। हाम्रो मुलुकमा उखुको मूल्य र चिनीको मूल्य निर्धारण गर्दा निर्णायक भूमिका चिनी उद्योगीहरूकै रहने गरेको छ। चिनी बिक्री भएन वा घाटा खाएर बेच्नुप–यो भन्ने त बहाना मात्रै हो। चिनीको मूल्य सधैं एकैनासको हुँदैन, बजारमा सिजन अनुसार प्रतिकिलो रु ५० देखि १०० सम्म बिक्री हुने गरेको छ। नेपाली उत्पादकले बजारमा चिनी महँगो भएको बेला मात्रै उद्योगबाट चिनी निकाल्ने गरेका छन्। मागभन्दा उत्पादन कम हुने भएकोले महँगोमैं बिक्री गरेर सकिन्छ। ३/४ वर्षसम्म ‘चिनी बिक्री भएन वा सस्तोमा बेच्नुप–यो’ भन्ने कुरा वाहियात, किसान मार्ने बहाना मात्रै हुन्। भुक्तानीको प्रत्याभूति हुने व्यवस्था गरी रुष्ट उखु किसानलाई पुनः चिनीमिलतर्फ विश्वासको वातावरण बनाउन सरकारीस्तरबाटै पहल जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here