वैधनाथ ठाकुर
    पूर्वी संस्कृतिमा आफूले खुशी वा दुःख मनाइराख्दा अरूलाई समस्या त भइरहेको छैन भन्ने कुरा विचार पु–याउनुपर्छ भनिएको छ। तर यसको हेक्का समाजले राखेको कतै देखिंदैन। चुनावपश्चात् निस्किने विजय जुलुस होस् वा कुनै खेल जितेको खुशियालीमा निकालिएको हिपहिप हुर्रेको जुलूस होस् प्रायः घण्टौंसम्म सडकमा ट्राफिक जाम बेहोर्नुपर्छ बटुवाहरूले। यस्तोमा कतिपटक गम्भीर प्रकृतिको रोगी बोकेको एम्बुलेन्सले समेत अमानवीय सास्ती भोग्दै आएका छन्।
    नेपाली समाजले सबैभन्दा बढी अरूको स्वार्थको कारणले भोग्दै आएको विषय हो भ्रष्ट राजनीति। परिवर्तनको नाममा २००७ सालदेखि हालसम्म जनताले गुमाएको धन, जन र खेपेका सास्ती कति हो कति ? प्रत्येक परिवर्तनपछि जनता झन्झन् समस्यामा फस्दै गएपनि नेताहरू सबै हिसाबले समृद्ध हुँदै गएका छन्। गत पुस ५ गते संसद् विघटन भएदेखि जुलूस र हडतालको झन् लर्को लागेको छ। प्रत्येक जुलूसले जनतालाई सास्ती र नेतालाई मस्ती दिएको छ।
    यसपालि फागुन ४ गते वसन्तपञ्चमी परेको थियो। ३ गतेदेखि ५ गतेसम्म पूजास्थलमा घन्काइएका डिजेले रातभरि सुत्नै नपाउनेहरूले कसलाई गुनासो गरून्। वीरगंज–३ गायत्रीनगरका केही व्यक्तिले प्रहरीलाई फोन पनि गरे तर कुनै फाइदा भएन। प्रहरीले पनि यस विषयलाई खासै महत्व दिएको देखिंदैन।


    हुनत विद्यार्थीहरूको लागि सरस्वतीपूजा सा–है महत्वपूर्ण मानिन्छ। कारण यही तिथिबाट बालबालिकालाई कलम समात्नसमेत लगाइन्छ। खासगरी हिन्दू धर्मावलम्बीहरूले सरस्वतीलाई ज्ञानकी देवी भनेर मान्दै आएका छन्। विद्या आर्जन गर्ने सबै पेशा, वर्ग, क्षेत्रले माघ शुक्ल पञ्चमीलाई ज्ञानको लागि पवित्र दिन मान्दछन्। यसै दिनबाट शरद ऋतु समाप्त भई वसन्त ऋतुको आगमनसमेत भएको मानिन्छ। जाडोमा चीसोसँग जुध्न रूखबिरुवाहरू जो पतझड प्रजातिका हुन्छन्, तिनीहरूले आफ्नो सम्पूर्ण पात झारेका हुन्छन्। नाङ्गो भएर पातविहीन बनेका रूखमा नयाँ–नयाँ कोपिला, मुना र पात आउन थालनीसमेत यसै दिनबाट हुने जनविश्वास छ।
    सरस्वतीपूजा यतिबेला एउटा विकृतिको परिचायक भइसकेको छ। निरङ्कुशताको बेलामा सरस्वतीपूजालाई जनतामा चेतना फैलाउने माध्यमको रूपमा पनि प्रयोग गरिन्थ्यो। त्यति बेला पूजामा विद्यार्थीहरूलाई भोज पनि खुवाउने चलन थियो। सबै जातजातिका छात्रछात्रा चाहे त्यो दलित समुदायबाटै किन नहोस्, ती सबैलाई सहभोज भएजस्तै पुरी, तरकारी, बुनिया पेटभरि खुवाउने चलन थियो। पूजाको उपलक्ष्यमा निरङ्कुशताविरुद्ध चेतना फैलाउने हकअधिकारलाई बढावा गर्ने गरी विभिन्न स्थानीय भाषामा नाटक मञ्चन पनि गरिन्थ्यो। नाटकको प्रदर्शनले एकातिर विद्यार्थीहरूको कला प्रखर भई मुखरित हुने अवसर प्राप्त गर्दथ्यो भने अर्काेतर्फ दर्शकको रूपमा विद्यालय प्राङ्गणमा उपस्थित अभिभावकवर्गमा हकअधिकारसम्बन्धी चेतनासमेत प्रवाहित हुन्थ्यो।
    यतिबेला देशमा निरङ्कुशतन्त्र समाप्त भइसकेको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र बहाल भइसकेको छ। तर जनताको जीवनचर्यामा अनुभूति हुनेगरी कुनै प्रकारको परिवर्तन भएको देखिंदैन। निरङ्कुशताको ठाउँ नेतातन्त्रले लिएको छ। नेताहरूलाई जनजीवनको अवस्था तथा सुविधाप्रति कुनै वास्ता रहेको देखिंदैन। जनता दिनदिनै महँगी, रोजगारविहीनता तथा भ्रष्टाचारले आक्रान्त छ तर नेताहरू स्थानीयदेखि प्रादेशिक तथा सङ्घीय सरकारसम्म सबैले विलासी महँगो गाडी किन्नमा राष्ट्रको ढुकुटी सकाइरहेका छन्। पहिलेको भन्दा देशको जनजीवन कष्टकर हुँदै गइरहेको छ। भन्नलाई देशमा दुर्ई तिहाइको वाम सरकार छ तर व्यवहारमा बितेको तीन वर्षभित्र कुनै पनि यस्तो नीतिगत निर्णय भएको देखिंदैन, जसले श्रमिक तथा सर्वहारा वर्गको आर्थिक कायापलट हुन सहयोगी भूमिका निर्वाह गरोस्। देशको भूमि भूमाफियाहरूको कब्जामा छ तर भूमिसम्बन्धी कुनै स्पष्ट वामनीति अगाडि सारेको देखिंदैन। शैक्षिकस्तर दिनानुदिन खस्किंदै गइरहेको छ। शिक्षामा व्याप्त चरम भ्रष्टाचारले सम्पूर्ण लगानी बालुवामा पानीको अवस्था जस्तै रहेको छ तर वाम सरकारको हालसम्मको नीति जनमुखी शिक्षातर्फ अग्रसर देखिंदैन। सरकारको कामकारबाई दलाल पूँजीपति तथा माफियाहरू मोटाउने कार्यमा अभिलक्षित रहेको अनुभूति सर्वत्र भइरहेको छ।
    यतिबेला नेकपाको आन्तरिक विवाद सडकमा आइपुगेको छ। प्रचण्ड–माधव गुटले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीलाई निरङ्कुश शासक भन्दैछ। दुवै गुटमा एकअर्काको खोइरो खन्ने प्रतियोगिता नै चलेको
जस्तो छ।
    यस्तो नौटङ्कीको अवस्थामा विद्यालय तथा गाउँँटोलमा सरस्वतीपूजा सकेको छ। कोरोनाले गर्दा खासै नाचगानको कार्यक्रम गरिएको देखिएन। तर डिजे
(ठूलो स्वरमा बजाइने गीत)को व्यवस्थाले ध्वनि प्रदूषण तथा रातिको निद्रा गायब गरेको देखियो। विद्यार्थी वा गैरविद्यार्थी जसले यत्तिकै गाउँटोलमा पूजाको आयोजना गरेका थिए, उनीहरूले पूजाको नाममा एक प्रकारको चन्दा आतङ्क नै कायम गरेको देखियो। पहिलेपहिले सडकमा डोरी तानेर वा ढाट लगाएर जसरी बटुवाहरूसँग हुलहुज्जत गरी चन्दा मागिन्थ्यो, त्यो कार्य पर्सा जिल्लामा तत्कालीन प्रहरी उपरीक्षक रमेश खरेलले रोक लगाएदेखि हालसम्म बन्द नै छ तर यतिबेला घरघरमा गएर यही गाउँँटोलका हौं भनेर दिनहुँ दुर्ई/चार वटा समूह चन्दा माग्न आउने गरेको तथ्य कसैबाट लुकेको छैन। यसरी मागेको पैसाको कुनै हिसाबकिताब पनि हुँदैन। पूजा खतम, हिसाब खतम। राति तिनै चन्दा माग्ने केटाहरू जाँडरक्सी खाएर वाहियात गीतहरूमा नाच्ने, होहल्ला गर्ने कार्यले यसपालि पनि निरन्तरता पाएको देखियो।
    नेपाली शिक्षाको स्तर दिन प्रतिदिन झर्दै जानुको मुख्य कारण देवी सरस्वती रिसाएर पनि हो कि जस्तो लाग्न थालेको छ। खासगरी सरस्वतीपूजामा भक्त विद्यार्थीहरूले सरस्वतीलाई सुनाउने गरेको भड्किलो गीतले नै देवी सरस्वती रिसाएको हुनुपर्छ। कुनै पनि देवतालाई उसको स्तुति गान गाउन छोडेर ‘चोली के पिछे क्या है’, ‘लालीपप लागेलु’, ‘छुना ना छुना ना’ जस्ता गीत सुनाएपछि देवता रिसाउनु मुनासिब नै हो। त्यसैले विद्यार्थीहरूलाई गुरुवर्गबाट सरस्वतीपूजामा सरस्वती वन्दना गर्न लगाउने साथै पढाइलेखाइमा प्रेरणा मिल्ने खालको अभिशिक्षण हुनु जरुरी छ। सरस्वतीपूजामा कि त परिमार्जन गरौं होइन भने विकृतिको परम्परालाई कहिलेसम्म निरन्तरता दिइराख्ने ?
    सरस्वतीपूजाले गर्दा केही मूर्ति बनाउने पेशा भएका मूर्तिकारको कमाइ भएपनि यसलाई समयमैं परिमार्जन गरिएन भने यो पर्व विकृतिको शिकार हुनेछ भन्दा कुनै अतियुक्ति नहोला। यदि साँच्चिकै सरस्वतीपूजा विद्यार्थीको लागि एउटा विशेष संस्कृति हो भने यसको मर्यादा कायम गर्न गराउन उदासीनता किन ? सरोकारवालाहरूलाई यसतर्फ विचार गर्न अबेला भएन र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here