प्रस, वीरगंज, ५ फागुन/
पर्साका छवटा खोलामध्ये चारवटा खोलाको ठेक्का लगाउन अझै समय लाग्ने देखिएको छ।
जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीका अनुसार चारवटा खोलाको विषयमा प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदन (आइइई) स्वीकृति गराउन समय लाग्ने भएकोले ठेक्का प्रक्रिया पनि लम्बिने उनले बताए। उनका अनुसार पर्सामा अहिले वीरगंज महानगरको स्वामित्वमा पर्ने भेडाहा खोलाको मात्र ठेक्का भई बालुवा, गिट्टी र ढुङ्गा उत्खनन भइरहको छ भने पर्सागढीको सिंगाही खोलाको पनि ठेक्का लागिसकेकोमा केही शर्त मिचिएकाले आजको बैठकले विभिन्न शर्त पालना गराउन दुवै खोलाका ठेकेदारलाई निर्देशन दिएको छ।
सभापति अन्सारीले ठेक्का प्रक्रियाको सम्झौता र शर्तविपरीत ठेकेदारले खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी लगेको विभिन्न सञ्चारमाध्यममा आएका समाचारको आधारमा छवटा विभिन्न शर्त पालना गरेर मात्र बालुवा, गिट्टी, ढुङ्गा उत्खनन गर्न निर्देशन दिएको बताए। यदि ती शर्त पालना नभएमा आगामी दिनमा ठेक्का तोडेर आवश्यक कानूनी कारबाहीको लागि चेतावनी पनि दिइएको उनले बताए।
त्यसैगरी, पर्सागढी नपाको अर्को खोला कर्जनिया, पटेर्वासुगौलीको एकल स्वामित्वमा पर्ने गादी खोलाको ठेक्का लाग्न नसकेर बन्द भए तापनि तस्करहरूले ती खोलाबाट अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन गरी तस्करी गरिरहेका छन्। त्यसैगरी, दुई पालिकाको क्षेत्र पर्ने जमुनिया, भलुवाही खोलामा पनि यस्तै कार्य भइरहेको गाउँलेहरूले बताएका छन्। जमुनिया खोलामा पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाको संयुक्त स्वामित्व पर्छ भने भलुवाहीमा पटेर्वासुगौली र जीराभवानीको। आइइई नभई ठेक्का लाग्न नसकेका चारवटा खोलाको विषयमा यस वर्ष सङ्घीय सरकारले आइइई प्रतिवेदन स्वीकृति गराउन प्रदेश सरकारलाई जिम्मा दिएकोमा त्यो अधिकार प्रदेश सरकारले स्थानीय पालिकालाई सुम्पेकोमा आगामी वर्षदेखि सबै खोलाको प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदन तयार गरी समयमैं ठेक्का लाग्ने बताइएको छ। सभापति अन्सारीले स्थानीय पालिकाभित्र पर्ने खोलाको हकमा सम्बन्धित पालिकाले पहिले अनुगमन गरी प्रतिवेदन तयार गरे पनि जिल्लास्थित जिल्ला समन्वय समितिको नेतृत्वमा विज्ञहरूको टोलीले अनुगमन गरी प्रतिवेदनलाई स्वीकृति दिएपछि खोलाको टेन्डर प्रक्रिया अघि बढ्ने नियम रहेको छ। चारवटा खोलाको ठेक्का लाग्न नसक्दा स्थानीय पालिकाको वार्षिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको छ।