प्रस, ठोरी, ५ फागुन/
नेपालको सीमासँग जोडिएको भारतीय वाल्मीकि व्याघ्र परियोजनाभित्र रहेको बाघले विगत केही दिनदेखि आतङ्क मचाउन थालेको समाचार आइरहेका बेला नेपाली टोली वाल्मीकि व्याघ्र परियोजनाको कार्यालयमा पुगी चासो देखाएको छ।
निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत, चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने इच्छानगर रेन्जपोस्टका रेन्जर छत्रबहादुर खड्कासहितको पाँचजनाको नेपाली टोली वाल्मीकि व्याघ्र परियोजना अन्तर्गतको मुग्राहा भन्ने स्थानमा पुगेको छ। नेपाली टोलीले बाघको खोजी कार्यमा खटिएको भारतीय सरकारी टोलीसँग भेट गरी सत्यतथ्य कुरा बुझेको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बस्नेतले जानकारी दिए। अध्यक्ष बस्नेतका अनुसार वाल्मीकि व्याघ्र परियोजनामा रहेको बाघले केही दिनभित्रै तीनजनाको ज्यान लिइसकेको छ भने दुईजनालाई गम्भीर घाइते बनाएको छ।
बस्नेतले बताए अनुसार वाल्मीकि व्याघ्र परियोजनाका अमरेशकुमार मल नेतृत्वको भारतीय टोलीले ८ दिनदेखि उक्त बाघको खोजी कार्य गरिरहेको छ तर उक्त बाघ नभेटिएपछि बाघ नेपाल पसेको हुन सक्ने आशङ्का गरिएको छ। उक्त बाघलाई नियन्त्रणमा लिनको लागि भारतीय टोलीले खोजी कार्यलाई तीव्रता दिए तापनि बाघ नभेटिएपछि बाघ नेपाल पसेको हुन सक्ने अनुमान गरिएको हो।
यसैबीच उक्त बाघ नेपाल पसेको भारतीय टोलीको आशङ्का रहेकोले नेपालको जङ्गल आसपासमा रहेका बस्तीहरूमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई केही दिन सतर्कता अपनाइ हिंड्डुल तथा निगरानी बढाउन निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बस्नेतले अपील गरेका छन्।
ठोरी–३ मा केही दिन पहिले आवतजावत गर्ने क्रममा बाघ देखिएको कारण उक्त हिंस्रक बाघ यतैकतै आएको हुन सक्ने वा आउन पनि सक्ने सम्भावना रहेकोले सम्पूर्ण ठोरीवासीलाई सतर्कता अपनाउनसमेत अध्यक्ष बस्नेतले अनुरोध गरेका छन्।