प्रस, ठोरी, ५ फागुन/
पर्साको जगरनाथपुर गाउँपालिका–३ खलचडीका १५ वर्षीय इरफान गद्दीले हरेक दिन विद्यालय जानुअघि पैसाको जोहो गर्नुपर्छ। घरदेखि टाढा रहेको विद्यालयमा पढ्न सार्वजनिक जीप चढेर पोखरिया नगरपालिका आउनुपर्छ। पढ्नकै लागि उनले गाडी भाडाबापत  दैनिक रु एक सय खर्च गर्नुपर्ने बताए।
उनको गाउँ खलचडीमा माध्यमिक तहसम्म पढाइ हुने विद्यालय नहुँदा १० कक्षा अध्ययनरत इरफान २०७६ सालदेखि दैनिक रु एक सय गाडी भाडा तिरेर पढ्न बाध्य छन्।
जगरनाथपुर गापाको जानकीटोलाबाट उनको गाउँँसम्म एउटा जीप जान्छ, उनी सोही जीपमा चढेर पोखरिया नगरपालिकामा रहेको महोवनी पद्म माविमा पढ्न जान्छन्।
गाउँनजीकै विद्यालय नहुँदा गाडी भाडा र खाजा खर्चका लागि उनका अभिभावकले दैनिक रु १२० खर्च दिने गरेको इरफानले बताए।
बिहान ८ बजे खाना खाएर जीप चढ्ने इरफान करीब ९ः३० बजे विद्यालय पुग्छन्। घरदेखि विद्यालयको बाटो टाढा भएकोले साइकलबाट ओहोरदोहोर गर्न सम्भव छैन। उनको गाउँँ जाने जीप ३ बजेअघि नै पोखरियाबाट छुट्ने भएकोले पूरा समय पनि विद्यालयमा पढ्न भ्याउँदैनन्।
मध्यम आर्थिक अवस्था भएको उनको परिवारमा ६ भाइ/छोरामध्ये उनी काइँलो हुन्।
प्रहरी बन्ने उद्देश्य लिएका इरफान पढाइमा पनि मेहनती रहेको शिक्षक सुबोध पासवानले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here