सञ्जय साह मित्र
सार्वजनिक ठाउँहरूमा निरन्तर कोलाहल बढिरहेको छ। मुख्यगरी सडक चाहिं कोलाहलको केन्द्र बन्दै गएको छ। मानवबस्ती जति धेरै बाक्लो रहेको छ, जति धेरै सुविधासम्पन्न नागरिकको बसोबास रहेको छ, उति नै धेरै सडकमा कोलाहल हुने गरेको छ। कोलाहलको प्रकृति दुई किसिमका छन्– व्यक्तिगत र सामूहिक वा सार्वजनिक। कोलाहलको मूलमा भने बढी मात्रामा संस्कृतिकै पक्ष रहेको देखिन्छ। सामान्यतया व्यक्तिगत वा पारिवारिक सांस्कृतिक कार्यहरू विवाह, कुलदेवताको पूजा, छठियार, जनेऊ (व्रतबन्ध), मुण्डनको समयलाई लिन सकिन्छ। यसैगरी उद्योगहरूमा गरिने पूजालाई पनि यहाँ जोड्न सकिन्छ। सार्वजनिक सांस्कृतिक कार्यक्रमहरू भनेका विद्यालय तथा क्याम्पस र अन्य सार्वजनिक तथा सामाजिक संस्थाहरूले गर्ने सार्वजनिक सांस्कृतिक उत्सव वा पूजालाई लिन सकिन्छ। सरस्वती पूजा, विश्वकर्मा पूजाजस्ता सांस्कृतिक कार्यहरूले के कसरी ध्वनि प्रदूषण गरिरहेका छन् भन्ने विषयमा अझै सामाजिक बहस हुन सकेको छैन। यस विषयमा अब बहस गर्न ढिलो भइसकेको छ।
हुनत सडकमा गुड्ने अनेक किसिमका सवारीसाधनले दुई किसिमले ध्वनि प्रदूषण बढाइरहेका छन्। पहिले त त्यसको इन्जिनबाट आएको आवाज ठूलो हुन्छ। इन्जिनकै आवाज यति चर्को हुन्छ कि कान खाइरहेको हुन्छ। दोस्रो चाहिं हर्नको आवाज हो। हर्न यति धेरै ठूलो चर्को हुन्छ कि कानको पर्दा च्यातेर मुटु नै हल्लाएको जस्तो हुन्छ। अझ यसमा थपिन्छ गाडीको थप आवाज। मुख्यगरी ट्याक्टरको टेलरले दिने आवाज यति धेरै चर्काे हुन्छ कि त्यसको हरहिसाब हुँदैन। विभिन्न गाडीका हर्नको चर्कोपन झन् झन् बढ्दै गएको छ। पहिलेको भन्दा झन् चर्को भइरहेको छ। एक किसिमले चर्कोको लागि प्रतिस्पर्धा भएजस्तो लाग्दछ। वास्तवमा जति धेरै चर्को आवाज हुन्छ, उति धेरै टाढा सुनिन्छ कि नजीकै रहे पनि अर्को इन्जिन वा अन्य आवाजलाई काटेर आफ्नो सुनियोस् भनेर यस प्रकारको ठूलो वा तीखो आवाजयुक्त लगाइन्छ कि ? जुनसुकै कारणले भएपनि उद्देश्य त अरूलाई आवाज सुनाउनु हो, जसले गर्दा सडक खाली होओस् र जान सजिलो होओस्।
डिजे निकै चर्को स्वरमा बजाइनु अहिलेको सांस्कृतिक पहिचान भइसकेको छ। कुनै घरमा डिजे बजिरहेको छ भन्नुको अर्थ हो, त्यस घरमा कुनै विशेष काम भइरहेको छ, जुन संस्कृतिसित सम्बन्धित छ। कुनै राजनीतिक कार्यक्रममा पनि डिजेको प्रयोग भएको हुन्छ। उसो त डिजेवालाहरूले आफ्नो डिजेको विज्ञापन पनि झन् चर्को आवाजमा डिजे बजाएर गर्दछन्। नयाँ उत्पादनको सामान, नयाँ अस्पताल वा डाक्टर, कतै कुनै यज्ञ वा महायज्ञ, मेला, कुस्ती, क्रिकेटजस्ता खेलकूद आदिको प्रचारप्रसार विभिन्न एफएम रेडियोसँगै डिजे बाजाको माध्यमबाट पनि गरिन्छ। यस प्रकारका प्रचार सामग्री अझ त्यहीं बढी जोडले बजाइन्छ, जहाँ मानिसको भीड बढी होओस् वा बाक्लो घना बस्ती होओस्। अझ विद्यालय र क्याम्पस सञ्चालन भइरहेको ठाउँमा सामान्यभन्दा हिंडाइको गतिलाई कम गरी वा केहीबेर रोकेर झन् ठूलो चर्को स्वर गरी डिजे बजाउँछन्।
डिजे बजाउँदा त्यसको स्वरले के कस्तो प्रभाव उत्पन्न गर्दछ ? विद्यालय तथा क्याम्पसमा कक्षा सञ्चालनलाई अवरुद्ध पार्दछ। अझ कहिलेकाहीं त शिक्षक र विद्यार्थीले पचाउन गा–हो हुने वा नराम्रो अर्थ लाग्ने गीत बजाएको हुन्छ। कतिपय अवस्थामा त शिर नै निहुराउनुपर्ने हुन्छ। एक त असान्दर्भिक गीत, दोस्रो, कक्षाको वातावरण नै बिथोलिने तथा तेस्रो, मुटु नै थर्किने गरी चर्को स्वर। कहिलेकाहीं त दर्जनौंपटक यस्तो व्यवहार दोहोरिन्छ, जसले गर्दा शिक्षकको सिकाउने मनस्थिति र विद्यार्थीको सिक्ने मनोविज्ञान दुवैलाई प्रभावित पार्दछ। कहिलेकाहीं शिक्षण सिकाइ क्रियाकलापको वातावरणलाई बिगार्ने गरी डिजेको चर्को स्वरसँगै गरिएको नाचको व्यवस्था पनि हुन्छ। डिजेसँगै एक वा एकभन्दा बढी कलाकारले गीतको भावसित मिलोस् वा नमिलोस्, धेरैको नजर आफूतिर तान्ने गरी नृत्य गरिरहेका हुन्छन्। यदि नृत्य गरिएको डिजे छ भने त्यो डिजे गएको केहीबेरसम्म कक्षाको माहोल प्रतिकूल हुन्छ र जतिखेरसम्म त्यो नृत्य प्रस्तुति भइरहन्छ, त्यत्तिखेरसम्म कक्षाको वातावरणलाई कुनै पनि मूल्यमा सम्हाल्न सकिने हुँदैन।
आफूले बजाएको डिजेले अरूलाई के कति क्षति पु–याएको छ भन्ने विषयमा विचार पु–याउन सकेको पाइँदैन। तर के पनि विश्लेषण गरिएको पाइन्छ भने चर्को डिजे वा अन्य कडा ध्वनि प्रदूषण बढाउने सामग्रीले जनजीवनका विभिन्न पक्षमाथि हस्तक्षेप बढाउनुका साथै संस्कृतिमाथि पनि हस्तक्षेप गरेको देखिएको छ। संस्कृति र परम्परामाथि हस्तक्षेप भएको र डिजेले झन् विस्तार गरेको आरोप पनि रहेको छ। आरोप लगाउनेले कस्तो तर्क गरेका छन् भने पहिले डिजे नहुँदा पूजा, विवाह वा अन्य सांस्कृतिक कार्यमा प्रत्यक्षरूपमा मानिसको सहभागिता हुने गरेको थियो। जस्तो कि सबै किसिमका गीत मानिसले नै गाउने गर्दथे तर अहिले सबै गीत डिजेले गाइदिएको छ र गीत गाउने मानिसले चाहिं आफूलाई उत्साहपूर्वक गीतको नृत्यमा सहभागिता जनाउने गरेका छन्। पहिले गीत संस्कृति निर्वाहका लागि हुन्थ्यो, जसमा विधि अनुसारको हार्दिकता हुन्थ्यो तर अहिले चाहिं गीत चाहिं नृत्यका लागि तथा विधि–व्यवहार चाहिं प्रदर्शनका लागि हुन थालेको छ। संस्कृतिबाट हार्दिकता हराउन थालेको छ। पूजा वा विवाह जस्ता संस्कृतिमा परम्परादेखि गरिने कतिपय विधि–व्यवहार चाहिं डिजेको कारणले लोप हुने हो कि भन्ने खतरा बढ्न थालेको पनि आरोप लाग्न थालेको छ।
डिजेको कारणले एकातिर लोकगीत तथा लोकसंस्कृतिमाथि खतरा बढेको छ भने अर्कोतिर डिजेमाथि यति धेरै निर्भरता बढेको छ कि यो नभई संस्कृति निर्वाहमा पनि समस्या हुने सम्भावना बढ्दै गएको छ। अझै केही वर्ष डिजेको प्रयोग यसैगरी निर्बाधरूपमा भइरह्यो भने धेरै किसिमका परम्परागत संस्कृति हराउने तथा डिजे बजाउनेले गरेजस्तै गर्ने गरी परम्परा निर्वाहको नयाँ दौर शुरू हुने सम्भावना रहेको छ। यसले गर्दा रैथाने संस्कृति र यसभित्रको मौलिकता झन् हराउने खतरा बढेको छ। यदि अचानक डिजे रोकिन पुग्यो वा बोलाइएको डिजे कुनै विशेष कारणले समयमा आउन सकेन वा आउनै सकेन भने संस्कृति मान्ने कि नमान्ने वा कसरी मान्ने भन्ने प्रश्न खडा हुन सकिने सम्भावनातर्फ पनि सङ्केत गरेको छ। यसको अर्को प्रभाव यो पनि देखिएको छ कि रैथाने संस्कृतिको विषयमा विशेष जानकारी राख्नेहरूको मूल्य र महत्व कम हुँदैछ, तिनीहरूको बारेमा चासो कम हुँदैछ, तिनीहरूको व्यावसायिक क्षमता कम हुन थालेको र सोधपूछ कम हुन पुग्नुले नयाँ पुस्तामा त्यस प्रकारको जानकारीको लागि आकर्षण कम हुन थालेको पाइएको छ। चर्को डिजेको हस्तक्षेप यसरी बढेको छ कि अब सांस्कृतिक कार्यहरूमा कुनै विशेष जान्ने मानिसको खोजीभन्दा डिजेको खोजी बढी हुन थालेको छ। संस्कृति र सांस्कृतिक कार्यमा डिजेको प्रवेश यसरी भएको छ मानौं यो त्यसको विशेष अङ्ग हो र अहिले नै परिस्थिति यस्तो बनिसकेको छ कि डिजेविना संस्कृति निर्वाह गर्न नसकिएला कि ? के डिजे नहुँदा हाम्रा संस्कृतिहरू मनाइन्नथे ? मानिन्नथे ?
अहिले संस्कृतिमा डिजे अनिवार्य चाहिने र डिजे जति धेरै शक्तिशाली भयो, उति धेरै राम्रो मानिने मानसिकताको विकास भइरहेको छ। यसले गर्दा झन् झन् चर्को आवाज दिने डिजे समाजमा भित्रिइरहेको छ र हरेक घरपरिवारले मेरो घरपरिवारमा यो एकचोटि त हो नि। यो पर्व वर्षको एकपटक आउने त हो नि। फलानो पर्वमा बजाउन हुने र फलानो पर्वमा नहुने, किन ? फलानोले बजाउँदा विरोध नहुने र मेरो वा हाम्रो कार्यको विरोध हुने, किन ? भन्नेजस्ता प्रश्नहरू आउन थाल्दछन्।
कम्तीमा यस्तो वातावरण त अवश्य सिर्जना हुनुपर्दछ कि संस्कृति मान्न सकियोस्। संस्कृतिलाई असर नपार्ने तथा वातावरणमा पनि ध्वनि प्रदूषण भएर अरूको कामलाई प्रभावित नपारियोस्, मानिसको निद्रामाथि हस्तक्षेप नहोस्। नवजात शिशुमाथि त्यस प्रकारको चर्को आवाजले कस्तो असर पारिरहेको छ भन्ने विषयमा कसैले विचार पु–याएको देखिन्न। सबै प्रकारका ठूला आवाज निकाल्ने साधनमाथि अध्ययन हुनु जरुरी छ। चर्को आवाजलाई नियन्त्रण गरिनु पनि आवश्यक भइसकेको छ।