वीरगंज महानगर भयो। महानगर पहिले यसले औद्योगिक नगरी, आर्थिक नगरी, कहिले शिक्षा हब, कहिले चिकित्सा हबजस्ता थुप्रै विशेषण पायो। आफ्नो वा अरूकै लगानीमा भएपनि सडक बनिरहेका छन्, उज्यालो वीरगंजको पूर्वाधार तयार पारिंदै छ। महानगरमा गाभिएका ग्रामीण क्ष्Fेत्रमा ऐलानी जग्गा पहिचान गरी भोलिका लागि हरित उद्यान, खेलकूद मैदान, अन्य आवश्यक संरचना बनाउने गरी सुरक्षा प्रदान गर्ने कार्यक्रम कार्यान्वयनमा छ। सरकारले पनि यसको महत्व बुझेर सुक्खा बन्दरगाह बनाइदिएको छ, एकीकृत भन्सार जाँच चौकी बनाइदिएको छ। कतिसम्म भने नाममात्रको एउटा रेलवे भएको मुलुकमा सुक्खा बन्दरगाहसम्म भारतीय रेल पनि हुलिदिएको छ। अग्ला–अग्ला भवन छन्, सडकहरू चिल्लो हुँदै गएका छन्। टोलटोलमा सरकारी र निजी विद्यालयहरू छन्। मानिसको जीवनस्तर उकासिएको छ। हेर्दा निर्धो देखिने मानिससँग पनि आधुनिक सुविधाका सामलहरू देखिन्छ। हातहातमा मोबाइल मात्र होइन, स्मार्ट फोन नै देखिन्छ। बाहिरबाट हेर्दा वीरगंज सम्पन्नहरूको नगर भइसकेको छ। गरीखानेका लागि पनि अवसरको उपलब्धता त्यतिकै रहेको छ।
तर शहरमा बस्ने मानिसलाई के–के नपुगेजस्तो भइरहेको छ। शहरमा साज–शृङ्गार छ, बाह्य कुरामा कुनै कमी छैन तर शहरमा आत्मा देखिन्न। कुनै पनि शहरको आत्मा भनेको त्यहाँको कला, संस्कृति, साहित्य, रङ्गमञ्च, खेलकूद, मनोरञ्जनका सामल आदि हुन्। यी सबैको यहाँ अभाव छ, त्यसैले यो शहर अति राम्रो पहिरनमा सजिएको बुख्याचा मात्र लाग्दछ। यस्तो पनि होइन कि यहाँ यी चीजको सर्वथा होस्। साहित्यकार र साहित्यानुरागीहरू छन्, तिनका लागि आवश्यक संस्थाहरू पनि छन्, नाचगानमा प्रवीणता प्राप्त गर्ने निजी प्रयास पनि भएका छन्। बाँझो जग्गामा उत्साही खेलाडीहरू क्रिकेट, फूटबल खेलिरहेका देखिन्छन्। अति लोकप्रिय फूटबल प्रतियोगिताहरू आयोजना गर्ने संस्थाहरू पनि छन्। यी सबै संस्थाहरूसँग आआफ्नो क्ष्Fेत्रको कार्यक्रम आयोजना गर्न पूँजी पनि छ। तर सबै संस्था अर्धचेत अवस्थामा छन्। संस्था छ, पदाधिकारीहरू पनि छन्, रकम पनि छ, तर एउटा एनेस्थियाजन्य आलस्य सबैमा व्याप्त छ। भाङ खाएर होश चाहिं नगुमाएको तर शरीर चलायमान राख्न नसक्ने विवशतामा सबै बाँचेका छन्। गर्न चाहनेले अवसर र स्थान पाइरहेको छैन, अवसर र स्थान हुनेसँग गर्ने जाँगर वा समय छैन।
आज वीरगंजबाट युवा पुस्ता बाहिर भागिरहेको छ। बाहिर भाग्नु हाम्रो सन्दर्भमा वैदेशिक रोजगारमा जानु हो। तर वीरगंजको युवा पुस्ता शिक्षाको लागि, उचित अवसरको प्राप्तिका लागि, विदेश होइन, राजधानी शहर हुइँकिंदै छ। वीरगंजमा सबै सुविधा छ, राम्रा विद्यालयहरू छन्, अस्पताल छन्, छैन भने प्राणमय वातावरण। अर्थोपार्जनका लागि मेशिनजस्तै जोतिने समुदायको बाहुल्य छ। जो अँध्यारो कोठामा बसेर एसीको शीतल र तातो हावामा मौसम अनुसार शारीरिक आनन्द लिन्छ, मनको आनन्दले उसलाई स्पर्श नै गर्न सकेको छैन। बेलुकी मदिराको मातमा रमाउन सिकेको वीरगंजवासीलाई सङ्गीतको लयमा निहित अपरिमित स्वादको अनुभूति नै छैन। सिनेमाबाट बाहिरी जनजीवनको हलचल थाहा पाउँछ, आफ्नै रङ्गमञ्चको प्रस्तुतीकरण पाउँदैन। अनि व्याकुल युवा हृदय यी सबको खोजीमा घर छाड्छ। उसलाई आत्मीयताले बाँध्ने कुनै जन्जीर यहाँ छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here