प्रस, निजगढ, ४ फागुन/
निजगढमा जारी तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा योङ्गस्टार युवा क्लब र निजगढ युवा क्लब ‘ए’ विजयी भएका छन्। आज भएको पहिलो खेलमा योङ्गस्टारले चौतारा युवा क्लबलाई १ का विरुद्ध ४ गोलअन्तरले पराजित गरेको हो।
खेल शुरू भएको छैटौं मिनेटमा चौताराले प्राप्त गरेको कर्नर किकलाई राजकुमार सारू मगरले हेडमार्फत गोल गरे। त्यसैगरी, १७औं मिनेटमा योङ्गस्टारका अरुण लामाले गोल गर्दै खेल बराबरीमा ल्याए।
योङ्गस्टारलाई अग्रता दिलाउने क्रममा ३२औं मिनेटमा रवि लामाले थप गोल गरे। पहिलो मध्यान्तरको अतिरिक्त समयमा योङ्गस्टारका विनय लामाले गोल गर्दै पहिलो मध्यान्तरमा योङ्गस्टारलाई ३–१ गोलअन्तरले अग्रता दिलाए। दोस्रो मध्यान्तरमा चौतारा खेलको लयमा फर्कने देखिए पनि कुनै गोल थप्न सकेन। दोस्रो मध्यान्तरको अतिरिक्त समयमा योङ्गस्टारका अरुण लामाले पुनः गोल गर्दै योङ्गस्टारलाई १ का विरुद्ध ४ गोलअन्तरले विजयी बनाए। सो खेलमा म्यान अफ दि म्याच योङ्गस्टारका अरुण लामा घोषित भए।
त्यसैगरी, दोस्रो खेलमा निजगढ युवा क्लब ‘ए’ले निजगढ–१३ युवा क्लबलाई १ का विरुद्ध ९ गोलअन्तरले पराजित ग–यो। शुरूको १० मिनेट जति खेल प्रतिस्पर्धात्मक देखिए पनि त्यसयता निजगढ–१३ माथि निजगढ युवा क्लब एकपक्षीयरूपमा हावी भयो। खेलको ७औं मिनेटमा निजगढ युवा क्लबका समीर तामाङले गोल गरे। समीरकै गोलमा निजगढ युवा क्लबले १४औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो।
निजगढ–१३ का सुन्दर विश्वकर्माको आत्मघाती गोलसँगै निजगढ युवा क्लबको अग्रता तेब्बर बन्न पुग्यो। ३२औं मिनेटमा निजगढ युवा क्लबका समीरले ह्याट्रिक गरे। त्यसको दुई मिनेटपश्चात् समीरले व्यक्तिगत गोल सङ्ख्या ४ बनाउँदै निजगढ युवा क्लबलाई ५—० को अग्रता दिलाए।
पहिलो मध्यान्तरमा ५ गोल खाएको निजगढ–१३ ले खेलको ४७औं मिनेटमा सन्देश लामाले पेनाल्टी सुटमा एक गोल गरे। विपक्षी टिमका खेलाडीले डिबक्सभित्र फल खेलेपछि प्राप्त भएको पेनाल्टीलाई उनले सदुपयोग गरे। लगत्तै खेलको ४९औं मिनेटमा निजगढ युवा क्लबका समीरले व्यक्तिगत ५औं गोल गर्दै टोलीलाई ६—१ को अग्रता दिलाए।
निजगढ युवा क्लबको लागि ५२औं मिनेटमा जन्मेजय धामीले गोल गर्दै अग्रता बढाएका थिए। खेलको ६१औं मिनेटमा निजगढ युवा क्लबका धनराज विश्वकर्माले गोल गर्दै टोलीलाई ८—१ को अग्रतामा पु–याए। निजगढ युवा क्लबका समीरले खेलको ७०औं मिनेटमा दोहोरो ह्याट्रिक गर्दै आफ्नो टीमलाई १ का विरुद्ध ९ गोलअन्तरले विजयी बनाए।
सो खेलको म्यान अफ दि म्याच निजगढ युवा क्लबका समीर तामाङ घोषित भए।
भोलि बुधवारको खेल एफसी कोलगाउँ र निजगढ वडा नं ९ बीच हुने आयोजक निजगढ फूटबल क्लबले जनाएको छ। निजगढ–९ स्थित शहीद हीरालाल रङ्गशालामा खेल भइरहेको छ।