प्रस, पोखरिया, ४ फागुन/
पर्सा, पोखरिया नगरपालिका वडा नं ६ श्रीसिया (डिह टोला)का ६ वर्षीय बालकलाई अज्ञात रोगले सताएको छ। विगत १० महीनादेखि शम्भु हजरा दुसाधका छोरा कृष्ण पासवानलाई कहिलेकाहीं पेट दुख्ने र शरीर सुनिंदै गएको देखिएको छ। अहिले उनी यति मोटाउँदै गएका छन् कि आँखा ढपक्कै ढाक्ने गरी छोपिंदै गएको छ। उनको उपचारमा बुबा शम्भु हालसम्म नेपाल र भारतका विभिन्न अस्पताल र चिकित्सककहाँ चहारिसकेका छन् तर पनि उनी निको हुन सकिरहेका छैनन्।
पोखरियाका केही सामाजिक अगुवाको सक्रियतामा उक्त बालकलाई आर्थिक सहयोग गरी काठमाडौं महाराजगंजस्थित कान्ति बाल अस्पतालमा लगिएको श्रीसियाका बासिन्दा भगवान दास तत्वाले जानकारी गराए। केही दिनअघि उनको एउटा भिडियो सामाजिक सञ्जालमा राखेर सहयोगको लागि अपील गरिएकोमा हालसम्म २५ हजार नगद सहयोग प्राप्त भएको तत्वाले जानकारी गराउँदै गत शनिवार बिहानदेखि अस्पतालमा भर्ना भएर उपचार भइरहेको जानकारी गराए। तत्वाले भने, “बुबा गरीब छन्, दुर्ई छाक खान मिहिनेत मजदूरी गर्छन्, बच्चाको उपचारमा आर्थिक अभाव भएपछि आफूहरूले सहयोग गरिरहेका छौं।”
शम्भु डकर्मीको काम गर्छन्। गत फागुनमा घर बनाउन उनी जनकपुर परिवारसँगै गएका थिए। त्यसपछि लकडाउन पनि शुरू भयो। जनकपुरकै बसाइमा बच्चा रोगी भएको परिवारजनले बताएका छन्। कृष्णका ठूलो बुबा प्रभु हजरा भन्छन्, “बच्चा पहिले ठीक थियो, विगत १० महीनादेखि रोगी भएको छ, धेरै ठाउँमा चेकजाँच गराउँदा पनि रोग पत्ता लागिरहेको छैन, झन मोटाउँदै गएको छ।”
बालकका बुबाले काठमाडौंमा आइतवारदेखि रगत, पिसाब चेकजाँच गरी उपचार शुरू भएको बताए। केही चिकित्सकले बालकको मिर्गौलामा समस्या रहेको भनी बताएको शम्भुले बताए। जसले गर्दा उनको वजन बढ्दै र शरीर सुनिंदै गएको आशङ्का गरे तापनि ठ्याक्कै यही रोग लागेको र यसको निदान यसरी हुन्छ भनी जवाफ नपाएको बताए। उनले चिकित्सक तथा अन्यसँग बालकको उपचारमा सहयोगको लागि गुहारसमेत गरेका छन्।
१० धुर घडेरीबाहेक शम्भुको जग्गा जमीन छैन। दैनिक ज्यालादारी गरी उनले आफूसमेत पाँचजनाको परिवार पाल्दै आएका छन्। छोराको उपचारमा करीब २ लाख रुपैयाँ कर्जा लिइसकेको पनि उनले दुःखेसो पोखे। उनका अरू चार वर्षका छोरा र एक वर्षकी छोरी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here