केही दिन पहिले पर्साको जीराभवानी गाउँपालिकामा करणी प्रयासको घटना भयो। दलित युवतीलाई उनको घरमैं पसेर दुई युवकले करणीको दुष्प्रयास गरे। युवतीले हार गुहार गरेपछि छिमेकीले थाहा पायो र पीडकहरू फरार भए। लामो समयसम्म सो मुद्दा प्रहरीमा दर्ता नभएपछि दुवै युवक गाउँमा फर्किए र उल्टै पीडित युवतीका साथै उनको परिवारजनलाई धम्की दिन थाले। प्रहरीमा मुद्दा नदिएको होइन। दलित युवतीतर्फबाट बोल्ने कोही नभएकोले प्रहरीमा दबाब पुगेन, दबाब नपुगेपछि मुद्दा दर्ता हुन पनि सकेन। घटनाको करीब एक महीनापछि सञ्चारमाध्यममा मुद्दा उठान भयो र अन्ततः प्रहरीले मुद्दा दर्ता गरेको छ। “बलात्कारको प्रयास मात्रै भएकोमा बलात्कार नै भएको भनेर मुद्दा आएकोले दर्ता नगरिएको तर पछि सच्याएर ल्याएपछि दर्ता गरिएको” प्रहरीको भनाइ छ। यस्ता घटनामा प्रहरी आफैंले मुद्दा लेखिदिएर भएपनि अपराधी उम्कन नपाउने गरी कारबाई चलाउनुपर्ने हो। पीडित अनपढ, दलित युवतीले पेश गरेको जाहेरीलाई प्राविधिक कारण देखाएर अपराधी उम्काउन खोज्नु अक्षम्य छ। घटना सार्वजनिक भयो, प्रहरीले थाहा पायो, सञ्चारकर्मीले अलि पछि थाहा पाएर समाचार छापे, तर महिला अधिकारवादीहरूले आजसम्म उक्त घटनाबारे थाहा पाएका छैनन्।
यसै साता पर्साकै बैरिया निवासी १६ वर्षीया अविवाहित किशोरी जसको विवाहको तयारी हुँदै थियो, उनको गर्भवती अवस्थामा मृत्यु भएको छ। गाउँकै एक युवकसँग प्रेम सम्बन्ध राखेकी किशोरीको पेटमा पाँच महीनाको गर्भ रहेको कुरा शव शल्यपरीक्षण गर्ने क्रममा देखिएको हो। गर्भको मृत शिशु प्रहरीको नाङ्गो आँखाले प्रस्ट देखेको छ। किशोरीलाई गर्भपतनको औषधि खुवाएको हुन सक्ने प्रहरीको अनुमान छ। औषधि खुवाएको हो, होइन भन्ने कुरा शल्यपरीक्षण रिपोर्टमा खुल्ने हो। प्रहरी त्यही पर्खिएर बसिरहेको छ। शल्यपरीक्षण रिपोर्टबाट औषधि खुवाएको प्रमाणित भएमा, औषधि कसले खुवाएको हो भन्नेबारे प्रहरीले अनुसन्धान थाल्नेछ। औषधि फलानोले खुवाएको हो भन्ने प्रमाणित हुनका लागि सेवनकर्ताले बोलिदिनुप–यो, नत्र साक्षी रोहबर चाहियो, नत्र अपराधी आफैंले स्वीकार्नुप–यो। देखिएको प्रमाणलार्ई छाडेर पछि खुल्ने कुराको प्रतीक्षामा बस्दा अपराधी जोगाउने काम भइरहेको छ। यस घटनाबारे पनि महिला अधिकारवादीहरू बेखबर छन्।
उमेर नपुगेकी किशोरीको एक युवकसँग प्रेम सम्बन्ध रहेको कुरा दुवैतर्फका अभिभावकलगायत गाउँलेलाई समेत थाहा छ। किशोरीको एकजना युवकबाहेक अन्य केटासाथी देखाउन उनीहरू सकिरहेका छैनन्। किशोरीको घरपरिवारबाट अन्यत्रै विवाहको तयारी भइरहेको पनि खुलिसकेको छ। फेरि पनि कोही पक्राउ पदैनन्। १६ वर्षीया किशोरीसँग यौन सम्बन्ध राख्नु कानूनतः बलात्कार हो। यौन सम्बन्ध नभएको भए गर्भ रहने थिएन। युवती आफ्नै कालगतिले मरेको रहेछ भने पनि यस घटनामा बलात्कारको घटना खुलिसकेको छ। बलात्कारीलाई पक्राउ गर्न छोडेर प्रहरी औषधिको पछि लागिरहेको छ। किशोरीलाई १६ वर्षकै उमेरमा विवाह गराउन खोज्ने बालविवाहका योजनाकारहरू अनुसन्धानको दायरामा किन परेनन् ? अपराधको फेर समाते सिङ्गो हात लाग्छ। तर यसको लागि दबाब पुगेन, फेरि पनि महिला अधिकारवादीहरू मौन छन्। शायद उनीहरू आवाज उठाउनको लागि कसैले लगानी गरिदेओस् भन्ने सोच छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here