प्रस, वीरगंज, ३ फागुन/
जिल्ला प्रशासन कार्यालय, पर्साले दुईजना मिटर ब्याजीमाथि अनुसन्धान शुरू गरेको छ।
पीडित र पीडकबीच भएको छलफलको क्रममा तत्कालको लागि पीडक दोषी रहेको भन्दै प्रारम्भिक अनुसन्धानबाट खुलेपछि जिल्ला प्रशासन कार्यालय पर्साले बयान लिएको छ।
झापाको भद्रपुर–२ घर भई वीरगंज महानगर–१० मा बसोबास गर्दै आएका मुरलीमनोहर मित्रुका र मदनमोहन मित्रुकालाई मिटर ब्याजीको आरोपमा आज जिल्ला प्रशासन कार्यालयले पक्राउ गरी १० दिनको तारिखमा रिहा गरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए।
वीरगंज महानगर–१२ मुर्लीका एमडी सहाबुद्दीन अन्सारीले मुरलीमनोहरसँग रु १३ लाख ऋण लिई कपाली तमसुक गरेका थिए। तर मित्रुकाले सात वर्षमा साँवा–ब्याजसहित १ करोड ९० लाख  पु–याएपछि अन्सारीले जिल्ला प्रशासन कार्यालय पर्सामा उजूरी दिए। उजूरीमा मुरलीमनोहर र मदनमोहनले वीरगंजमा सयौंलाई ब्याज दिने र पछि मिटर ब्याज असुल्दै दर्जनौं व्यक्तिमाथि मुद्दा दायर गरेको देखिन्छ। पीडित अन्सारीका अनुसार मित्रुका दाजुभाइले अहिले जिल्ला अदालतमा चारजनामाथि मुद्दा दायर गरी घर–जग्गाविहीन बनाएको बताए।
२०७१ वैशाख २ गते अन्सारीले मित्रुका दाजुभाइसँग ऋण लिएको तर चलनचल्ती अनुसार रु १३ लाखको दोब्बर रु २६ लाखको कपाली तमसुक बनाएको अन्सारीले बताए। तर दाजुभाइ मिली एकै दिन मिति फरक पारी मदनमोहनको नाममा वीरगंज महानगर–१२ नक्शा सिट नं. ०३५१–०४, कित्ता नं. ६९३, क्षेत्रफल ०५५८.७४ को जग्गा दृष्टिबन्धक गरेको देखिन्छ।
ठग्ने उद्देश्यले दाजुभाइले पीडित अन्सारीलाई झुक्याइ अन्य कागजातमा सहीछाप गराउने गरेको उजूरीमा उल्लेख छ। दाजुभाइले दिएको रकमको ब्याज १० प्रतिशत लिनुपर्नेमा उनीहरूले मिटर ब्याज असुल गरी आफूलाई बिल्लबाठ बनाएको र अहिले आएर जिल्ला अदालतमा मुद्दा हालेको पीडित अन्सारीले बताए।
आज जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलको क्रममा मित्रुका दाजुभाइले रु ५१ लाख अन्सारीलाई दिएको बताउँदै सावाँ–ब्याजसहित १ करोड ९० लाख भएको दाबी गरेका छन्।
प्रजिअ तामाङसामु मित्रुका दाजुभाइले आफू अन्यायमा परेको  बताएका थिए। तर पीडित अन्सारीका अनुसार आफूले छोरीको बिहेको लागि रु १३ लाख ऋण लिएको तर मित्रुका दाजुभाइले झुक्याएर रु २६ लाखको कपाली तमसुक तथा रु २५ लाख बराबरको जग्गा दृष्टिबन्धक गराएको आरोप लगाए। उनले कपाली तमसुक अनुसार रु २६ लाख दिन तयार रहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here