प्रस, सेढवा, ३ फागुन/
ग्रामीण भेगका अधिकांश सामुदायिक विद्यालय परिचर र बालविकास सहयोगी कार्यकर्ताको भरमा सञ्चालन भइरहेका छन्।
जगरनाथपुर, पटेर्वासुगौली तथा जीराभवानी गाउँपालिकाका करीब एक दर्जन सामुदायिक विद्यालयमा शिक्षकको शून्य दरबन्दी छ।
जगरनाथपुर गाउँपालिका–३ स्थित रामजानकी प्राथमिक विद्यालयमा एकजना साधारण शिक्षक दरबन्दी रहेकोमा परिचरको भरमा सो विद्यालय चलेको छ। विद्यालयका प्रधानाध्यापक महमद सानी अन्सारीले कात्तिक १७ गते अनिवार्य अवकाश पाएपछि परिचरले नै विद्यालय सञ्चालन गर्दै आएका छन्। चार महीना बितिसक्दा पनि शिक्षक नआएका कारण त्यहाँ अध्ययनरत ८५ जना विद्यार्थीको पठनपाठन अन्योलमा परेको स्थानीयले गुनासो गरे। सो विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुन्छ।
त्यस्तै, जीराभवानी गाउँपालिकामा रहेका आधा दर्जन विद्यालयको पठनपाठन पनि बालविकास सहयोगी कार्यकर्ताहरूको भरमा चलिरहेको छ। बालमन्दिर बिनटोली महादेवपट्टि, मदरसा बलुवा, भोलानाथ प्रावि परसवा, शहीद रामेश्वर राम प्रावि जीतपुर, विश्वजगत प्रावि जीतपुर, बालवाटिका प्रावि कोढौलीमा बालविकासदेखि तीन कक्षासम्मको अध्यापन सहयोगी कार्यकर्ताहरूले नै गरिरहेका छन्।
बालमन्दिर प्रावि बिनटोलीका प्रधानाध्यापक मोनितादेवी थारूले शिक्षक नआउँदा निकै समस्या भएको गुनासो गरिन्। विद्यालयमा बालविकासदेखि कक्षा ३ सम्म १०१ जना विद्यार्थी रहेको र तिनीहरूको पठनपाठनमा समस्या भएको बताइन्। उनले शिक्षकका लागि गाउँपालिकामा पटक–पटक माग गर्दा पनि सुनवाइ नभएको बताइन्।
जीराभवानी गाउँपालिकाका शिक्षा संयोजक जीतेन्द्र मिश्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले अनिवार्य अवकाश पाएको बताए। उनले नयाँ शिक्षक चाँडै नियुक्ति गर्नुपर्ने बताए। उनले पालिकाको शिक्षा ऐन निर्माण हुन नसक्दा नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेको बताए।
पटेर्वासुगौली गाउँपालिकाको नेरा आधारभूत विद्यालय रामपुर, आधारभूत विद्यालय पूर्व देकुली, जयदुर्गा आधारभूत विद्यालय मोरगाउँमा पनि शिक्षकहरूको शून्य दरबन्दी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here