प्रस, निजगढ, ३ फागुन/
निजगढमा जारी तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिता अन्तर्गत सोमवार भएका खेलमा हिमाल युवा क्लब र बाघभैरव युवा क्लब विजयी भएका छन्। आज भएको पहिलो खेलमा हिमालले सिंगौल फूटबल क्लब ‘बी’लाई १ गोलका विरुद्ध २ गोल गरी पराजित गरेको थियो।
खेलको २८औं मिनेटमा हिमालका अर्बिन कुमरले गोल गरी खाता खोलेका थिए। तर पहिलो मध्यान्तरको अतिरिक्त समयमा सिंगौलका छविलाल विश्वकर्माले गोल फर्काएपछि खेल बराबरी भएको थियो। मध्यान्तरपछिको ३८औं मिनेटमा सिंगौलका खेलाडीले गोल पोस्टनजीकै फल गरेपछि हिमालले पाएको पेनाल्टी सुटलाई सदुपयोग ग–यो। हिमालका वर्षात मोक्तानले गरेको सोही गोल नै निर्णायक भएको थियो। उत्कृष्ट खेल प्रदर्शन गरेबापत हिमालका गोलरक्षक प्रमेश गुरुङ म्यान अफ दि म्याच भए।
त्यसैगरी, दोस्रो खेलमा बाघभैरव युवा क्लबले निजगढ युनाइटेड क्लबलाई २ गोलका विरुद्ध ६ गोल गरी विजयी भयो। खेलको तेस्रो मिनेटमैं बाघभैरवका हस्तबहादुर चौरेलले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए। पहिलो गोल गरेको २ मिनेटमैं चौरेलले पुनः गोल थप्दै बाघभैरवको अग्रता दोब्बर बनाए। निजगढ युनाइटेड क्लबको लागि ३५आंै मिनेटमा अजयकुमार रूम्बाले गोल गर्दै खेललाई लयमा ल्याउने प्रयास गरे। ४३औं मिनेटमा बाघभैरवका दिपेश घतानीको आत्मघाती गोलपछि खेल २–२ को बराबरीमा पुग्यो।
तर आक्रमकरूपमा प्रस्तुत भएको बाघभैरवले निजगढ युनाइटेडको गोल पोस्टमा निरन्तर गोल गर्ने प्रयास जारी राख्यो। ६०औं मिनेटमा बाघभैरव क्लबका दिलकुमार वाईवाले टीमका लागि तेस्रो गोल थपे। निजगढ युनाइटेड कडा प्रतिस्पर्धामा उत्रने प्रयास गर्दागर्दै खेलको ६३औं मिनेटमा बाघभैरवका हस्तबहादुर चौरेलले ह्याट्रिक गर्दा खेल २–४ को अवस्थामा थियो। त्यसपछि बाघभैरबका अरुण पाख्रिनले एक गोल गर्दै टीमको गोल सङ्ख्या ५ पु–याए। दोस्रो मध्यान्तरको अतिरिक्त समयमा बाघभैरब क्लबका हस्तबहादुर चौरेलले पुनः गोल गरेपछि २ का विरुद्ध ६ गोलअन्तरले बाघभैरब विजयी भयो। उत्कृष्ट खेल प्रदर्शन गरेका बाघभैरबका चौरेल म्यान अफ दि म्याच घोषित भए। भोलि मङ्गलवार पहिलो खेल चौतारा युवा क्लब र योङ्गस्टार युवा क्लबबीच हुनेछ भने दोस्रो खेल निजगढ युवा क्लब ‘ए’ र निजगढ–१३ युवा क्लबबीच हुनेछ।
दुवै खेल निजगढ–९ स्थित शहीद हीरालाल रङ्गशालामा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here