प्रस, जनकपुरधाम, ३ फागुन/
प्रदेश २ सरकार गठन भएको ३ वर्ष पुग्यो। ३ वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले सोमवार पत्रकार सम्मेलन गरी आफ्नो उपलब्धि सार्वजनिक गरेको छ।
प्रदेश २ सरकारले आफ्नो महत्वपूर्ण उपलब्धिको रूपमा सङ्घीय सरकारविरुद्व मुद्दा दायर गर्नुलाई पनि लिएको छ। यसलाई प्रदेश २ सरकारको उपलब्धि मात्रै नभएर मुलुकका ७ वटै प्रदेश सरकारका लागि उपलब्धि भएको भन्दै प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीले संविधानप्रदत्त प्रदेशको अधिकार प्राप्ति एवं कार्यान्वयनका लागि २ नं प्रदेशले राष्ट्रियस्तरमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल भएको बताए। प्रदेशको समग्र विकासका लागि सागरनाथ वन, सिंचाइ, प्रहरी समायोजन, कर्मचारी समायोजनलगायतका ६ वटा विषयमा सङ्घीय सरकारविरुद्ध प्रदेश सरकारले मुद्दा दायर गरेको छ। यसले आगामी दिनमा अधिकार क्षेत्र तथा जिम्मेवारी बाँडफाँडमा स्पष्टता कायम गर्ने मुख्यमन्त्री गद्दीको भनाइ छ।
त्यसैगरी, प्रदेश सरकारको महत्वपूर्ण उपलब्धिमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई लिएको छ। सो अभियान अन्तर्गत हालसम्म प्रदेशमा ६ हजार ९ सय ६ जना छोरीको बीमा गरिएको र उनीहरूको उमेर २० वर्ष पुगेपछि ३ लाख रुपैयाँ पाउने प्रदेश सरकारले जनाएको छ। छोरीलाई विद्यालयमा पहुँच पु–याउन र प्रोत्साहित गर्ने उद्देश्यले २४१ वटा सामुदायिक विद्यालयमा १४ हजार साइकल वितरण गरिएको र थप २० हजार साइकल वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको सरकारको तथ्याङ्कमा उल्लेख छ।
‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत जानकी मन्दिर, रौजा मजार, छिन्नमस्ता भगवती, सहलेश स्थान, पारसनाथ, भिस्वा बौद्ध गुम्बाहरूको संरक्षण तथा सौन्दर्यीकरणको कार्य अगाडि बढाउनुलाई सरकारले अर्को महत्वपूर्ण उपलब्धि मानेको छ। यस अभियान अन्तर्गत २७ वटा पोखरी तथा सार्वजनिक र पर्यटकीय तथा धार्मिकस्थलहरूको संरक्षण तथा सौन्दर्यीकरणको कार्य शुरू भएको उनले जनाएका छन्।
मधेस आन्दोलनका २७ जना शहीद परिवारलाई रोजगार उपलब्ध गराइएको, आन्दोलनका क्रममा घाइते व्यक्ति तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुलाई पनि प्रदेश २ सरकारले महत्वपूर्ण उपलब्धि भनेको छ।
हालसम्म ३९ वटा विधेयक प्रमाणित भई कार्यान्वयनमा आएको र २२ वटा विधेयक प्रदेशसभाको विधायन समितिमा विचाराधीन अवस्थामा रहनुले प्रदेश सरकारलाई कार्य सञ्चालन गर्न मार्ग प्रशस्त हुनुका साथै संविधानप्रदत्त अधिकारको प्रयोग तथा परिपालनामा सघाउ पुगेको प्रदेश सरकारको दाबी छ।
तीन वर्षको अवधिमा प्रदेश सरकारले प्रदेशसभा निर्वाचन क्षेत्रमा कम्तीमा ३२० किलोमिटर पक्की सडक निर्माण गर्ने कार्यको थालनी गरेको जनाएको छ। यस अवधिमा विभिन्न स्थानमा ५०.९५ किलोमिटर कालोपत्रे सडक निर्माण, ७४.९० किलोमिटर पक्की सडक ढलान, १ सय ७०.१७ किलोमिटर ग्रेभल सडक निर्माण, ५५४ किलोमिटर नाला निर्माण, १४ वटा कल्भर्ट निर्माण र ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माण गरेको मुख्यमन्त्री गद्दीले सञ्चारकर्मीलाई जानकारी गराए।
प्रदेशमा आइपर्ने बाढी, डुबान, शीतलहर, आगलागीजस्ता विपद् प्रभावित परिवारलाई ८ हजार थान कम्बल, १ हजार थान त्रिपाल र रु ११ लाख ४० हजार राहतस्वरूप नगद उपलब्ध गराइएको भन्दै प्रदेशले यसलाई उपलब्धिको रूपमा लिएको छ। यसैगरी, सुरक्षा निकायहरूको भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले ३९ करोड रकम सहयोग गरेको र सो रकमबाट ८ वटा प्रहरी चौकी निर्माण भइरहेको जनाएको छ।
कार्यक्रममा मुख्यमन्त्री गद्दीले सेवा प्रवाहमा जनशक्तिको अपर्याप्तता, सङ्घीय कानून समयमैं नबन्दा प्रदेश कानून निर्माण र कार्यान्वयनमा जटिलतालगायतका कारण प्राप्त उपलब्धिलाई संस्थागत गर्न कठिन भइरहेको बताए।