प्रस, पोखरिया, २ फागुन/
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य निजामुद्दीन समानीको नेतृत्वमा पोखरिया अस्पताल सुधारको लागि धर्ना दिएपछि सहमति भएको छ।
पोखरिया नगरपालिका कार्यालयअगाडि आज साढे १२ देखि साढे २ बजेसम्म धर्ना दिइएपछि नगरप्रमुख दीपनारायण रौनियारले चैत १ गतेसम्मको समयसीमा माग गरेका थिए र सो विषयमा सहमति भएको थियो। नगरप्रमुख रौनियारले प्रदेश सरकारले पठाएको रकम सम्बन्धमा प्रक्रियागत काम अगाडि बढेको र चैत १ गतेसम्म सो प्रक्रिया पूरा हुने आश्वासन दिएपछि उक्त मितिसम्मको लागि धर्ना कार्यक्रम स्थगित गरिएको नेता समानीले बताए।
प्रदेश सरकारले रु ४ करोड ४ लाख पोखरिया अस्पतालको विकासमा पठाएको तर सोअनुरूप काम नभएपछि आज धर्ना दिइएको थियो। नेता समानीले पोखरिया अस्पताल सञ्चालन व्यवस्थापनको लागि औषधि/आवश्यक उपकरण खरीद नगरेको, प्रसूतिको लागि चिकित्सक भएपनि आवश्यक उपकरण नहुँदा शल्यक्रिया नहुने गरेको, स्वास्थ्य बीमा गराएकाहरूले औषधि नपाएको र अस्पतालको अवस्था दिन प्रतिदिन दयनीय भएको र सो लापरवाहीविरुद्ध आफूले धर्ना दिएको बताए।
पोखरिया नगरपालिकालाई प्रदेश सरकारले उपलब्ध गराएको रकम अहिलेसम्म खर्च नगरिएको र सो सम्बन्धमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि अटेर गरिएकोले धर्नामा बस्न बाध्य भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here