प्रस, निजगढ, २ फागुन/
निजगढ नगरपालिकामा पहिलोपटक महिलाहरूलाई लक्षित गरी उपप्रमुख प्रजनन स्वास्थ्य प्रवर्धन कार्यक्रम आइतवारबाट शुरू भएको छ।
नगरप्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेले सो कार्यक्रमको उद्घाटन संयुक्तरूपमा गरेका थिए।
महिलाहरूका स्वास्थ्यसम्बन्धी धेरै समस्या भएपनि जटिल अवस्था नपुगी उपचार गर्न नजाने बानी राम्रो नभएको बताउँदै निरोगी, स्वस्थ नगरवासी रहे मात्र स्वस्थ, सभ्य समाजको सिर्जना, विकास हुने नगरप्रमुख खनालले बताए।
कार्यक्रममा उपप्रमुख लामिछानेले महिलाहरूमा प्रजजनसम्बन्धी देखिने पाठेघरका बिरामीहरू बढ्दै गए पनि महिलाहरू खुलेर आफ्ना समस्या राख्न अप्ठ्यारो मान्ने भएकाले कतिपय महिला समयमैं उपचार नपाएर अकालमा ज्यानसमेत जाने गरेका घटनाहरू प्रशस्तै रहेको बताइन्।
महिलाहरूका लागि महिला चिकित्सकहरूबाट नै उपचार गराउने र महिलाहरूले खुलेर आफ्ना स्वास्थ्य समस्या राख्ने भएकाले यस कार्यक्रमबाट निजगढ नगरभित्रका मात्र नभई छिमेकी नगरपालिकाका महिलाहरूले स्वास्थ्य सेवा पाउने अपेक्षा आफूले लिएको उनले भनिन्।
सम्भवतः देशभरकै स्थानीय तहहरूमध्ये यो सेवा निजगढ नपाले गरेको पहिलो रहेको बताउँदै हामीले नगरपालिकामा स्वास्थ्यसम्बन्धी कार्य विधि नै तयार गरी सेवाको थालनी गरेका छौं। जसबाट बिरामी महिलाहरूका स्वास्थ्य परीक्षणसँगै उपचार हुने आशा जगाएको छ, उपप्रमुख लामिछानेले थपिन्।
कार्यक्रममा वडा नं ११ का अध्यक्ष प्रेम रुम्बा, प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरका कार्यक्रम फोकल पर्सन सुरेश यादव, स्वास्थ्यकर्मी रमेश लामा, मणिश्वर घिमिरेलगायतले मन्तव्य राखे। कार्यक्रमको अध्यक्षता वडा नं ९ का अध्यक्ष एवं प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन बडालले गरेका थिए भने कार्यक्रमको सञ्चालन लक्ष्मी आचार्यले गरेकी थिइन्।
प्रत्येक महीनाको एकपटक शुरू गरिएको यस कार्यमा नियमित पाठेघर परीक्षण, आङ खसेको स्क्रिनिङ परीक्षण, स्तन क्यान्सर, बाँझोपनसम्बन्धी परामर्शलगायत अन्य महिला स्वास्थ्यसम्बन्धी उपचार गरिने जनाएको छ।
निजगढ नगरको निजगढ, रतनपुरी, भरतगंजसिगौंलबाट तीन सयभन्दा बढी बिरामी महिलाहरू स्वास्थ्य सेवा लिन आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here